१८ बैशाख २०८१, मंगलवार

अपराजित रहँदै आज सेमिफाइनलमा जाने नेपालको लक्ष्य

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।

ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।

साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ। आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।

एसीसी प्रिमियर कपको समूह बीमा अप्रत्यासित नतिजा देखिएका छन्। कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको छ।

नेपाली क्रिकेट टिमले कतार र मलेसियाविरुद्ध संघर्ष गर्दा जारी प्रिमियर कपमा नेपालको प्रदर्शनमा प्रश्न उठ्न लागेको थियो। तर नेपालले समूहको बलियो विपक्षी हङकङलाई जसरी हराएको छ, नेपालको प्रदर्शन सुधारिएको देखिन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामै आसिफ सेखले एक हजार टी–ट्वेन्टी रन पूरा गरे। अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन्। दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन्।

तीन खेलमा आसिफले एक सय २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ८४, रोहित पौडेलले ७१ र कुशल भुर्तेलले ६८ रन बनाएका छन्। बलिङमा नेपालले विपक्षीलाई दबाबमा राख्न सकेको छ। अलराउन्डर दीपेन्द्र विकेट लिने नेपाली खेलाडीमध्ये सबैभन्दा अगाडि छन्। उनले ६ विकेट लिँदा अविनाश बोहोराले ५ र ललित राजवंशीले चार विकेट लिएका छन्।

दीपेन्द्र नेपाली टिमबाट सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। कतारसँगको खेलमा उनले कुशल मल्लको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड तोडेर आफ्नो नाम गरेका थिए। त्यही खेलमा दीपेन्द्रले एकै ओभरमा ६ छक्कासमेत प्रहार गरेर र २ पटक ६ बलमा ६ छक्का हान्ने पहिलो ब्याटर बने।

धेरै कमेन्ट गरिएका