२४ बैशाख २०८१, सोमबार

वामदेखि रामसम्मकाे चुनाव ! पहिले कम्युनिस्ट सिद्धिए, अब कांग्रेसको पालो ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा आम निर्वाचनको मिति नजिकिँदै जाँदा नेपालमा पनि यसको चासो बढेको छ । बैशाख ७ देखि सात चरणमा हुने चुनाव जेठ १९ सम्म चल्ने छ । देशभरिको मतगणना भने जेठ २२ मा हुनेछ ।

लोकसभाका ५४३ सिटका लागि हुन लागेको चुनावमा मतदानका लागि ९६ करोड मतदाता योग्य छन् ।

लोकसभाको चुनावमा २० सिटभन्दा माथिका १२ वटा राज्यको नतिजा सरकार गठनमा निर्णायक मानिन्छ । ठूला १२ वटा राज्यमध्ये ४२ सिट रहेको पश्चिम बंगाल तेस्रो ठूलो राज्य हो । उत्तरप्रदेश (८० सिट) र महाराष्ट्र (४८) सिटपछि पश्चिम बंगाल तेस्रो ठूलो मानिन्छ । चौथोमा ४० सिटको बिहार पर्छ ।

भारतमा ४० सिटभन्दा माथिका ४ वटा राज्य छन् । तीमध्ये पश्चिम बंगाल, बिहार र उत्तर प्रदेश नेपालसँग जोडिएका राज्य हुन् । नेपालसँग जोडिएका साना राज्यहरु सिक्किम उत्तराखण्डमा भने कुल ६ सिट मात्र छ । त्यसमध्ये पनि सिक्किम एक सिटको राज्य हो ।
यसअघि खबरहबले नेपालका ११ जिल्लासँग जोडिएको बिहार राज्यको चुनावी विश्लेषण गरेको थियो । यसमा हामीले नेपालीभाषीहरुको प्रभाव रहेको दार्जीलिङ, डुवर्स आदिसँग साइनो जोडिएको र पुरानो कम्युनिष्ट राज्य पश्चिम बंगालका बारेमा चर्चा गर्ने छौं ।

बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?

चुनावमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ४ सयभन्दा धेरै सिट जितेर आफ्नो पकड थप मजबुत बनाउने लक्ष्य राखेको छ । भाजपाले ‘अब की बार ४०० पार, तिसरी बार मोदी सरकार’ नारा अघि सारेको छ ।

सन् २०१९ मा सम्पन्न अघिल्लो निर्वाचनमा ३०३ सिट जितेको भाजपालाई यसपटक ४ सय सिट जित्न सजिलो भने नभएको भारतीय राजनीतिक वृत्तका जानकारहरु बताउँछन् ।

भाजपालाई ४ सय सिट जित्नका लागि पश्चिम बंगाल राज्यमा जित हासिल गर्नु निकै महत्वपूर्ण मानिएको छ । कुल ४२ सिट रहेको पश्चिम बंगालमा यस पटक ७ चरणमै मतदान हुनेछ ।

नेपालको पूर्वीभागसँग सीमा जोडिएको पश्चिम बंगालमा ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसको वर्चश्व छ । सन् २०१९ मा भएको आम निर्वाचनमा तृणमूल कांग्रेसले लोकसभाका ४२ मध्ये २२ सिटमा जित हासिल गरेको थियो भने भाजपाले १८ सिट जितेको थियो । भारतीय राष्ट्रिय कांग्रेसले केबल दुई सिट जितेको थियो भने कुनै समय पश्चिम बंगालमा एकछत्र राज गरेको वाममोर्चाले कुनै सिट जित्न सकेको थिएन ।
मतका आधारमा हिसाब गर्दा सन् २०१९ मा पश्चिम बंगालमा तृणमूल कांग्रेसले ४४ प्रतिशत र भाजपाले ४१ प्रतिशत मत पाएका थिए ।

बंगालमा भारतीय क्रान्तिकारीहरु अबानी मुखर्जी, एमएन रोय, मुजफ्फार अहमद, सुवासचन्द्र बोस, औरबिन्द गोस, साहित्यकार रवीन्द्रनाथ टैगोरजस्ता हस्तीले जन्म लिएका थिए । स्वतन्त्रतासँगै बंगाल दुई भागमा विभाजित भयो । पूर्वी बंगाल पाकिस्तानतिर गयो, पश्चिम बंगाल भारतमा रह्यो ।

पश्चिम बंगालमा सन् २०२१ मा विधानसभाको निर्वाचन भयो । पश्चिम बंगाल विधानसभाका २९२ सिटका लागि भएको चुनावमा तृणमूल कांग्रेसले २१५ सिट जितेर एकल बहुमत पायो । भाजपा ७७ सिट जितेर दोस्रो दल बन्यो ।

तृणमूल कांग्रेसले ४८ प्रतिशत मत पाएको विधानसभा चुनावमा भाजपाले ३८ प्रतिशत मत पाएको थियो । अघिल्लो विधानसभा चुनावमा २६ सिट जितेको भारतीय कम्युनिष्ट पार्टी मार्क्र्सवादीले २०२१ मा एउटा पनि सिट जित्न सकेन ।

यसरी पछिल्ला दुई चुनाव हेर्दा पश्चिम बंगालमा तृणमूल कांग्रेसले एकतर्फी जीत हासिल गरिरहेको देखिन्छ भने उसलाई भाजपाले राम्रै चुनौती दिइरहेको छ । भारतीय राष्ट्रिय कांग्रेसको प्रभाव नगण्य देखिएको छ । वाम पार्टीहरु त झनै बिजोग अवस्थामा छन् ।

अहिले जे जस्तो देखिए पनि एक समय भारतको यो राज्यमा वामपन्थी आन्दोलन र वाममोर्चाको गढ नै मानिन्थ्यो । यहाँ वाम मोर्चाले सन् १९७७ देखि सन् २०११ सम्म ३४ वर्ष एकछत्र शासन गरेको थियो । जसको प्रभाव अहिले शून्यप्रायः छ

स्वतन्त्र हुनुअघिदेखि नै बंगाल भारतीय क्रान्तिकारी र बुद्धिजीविका लागि ऊर्वर भूमिका रुपमा चिनिएको थियो । लामो समयसम्म बेलायती शासनअन्तर्गत भारतको राजधानी रहेको बंगालको कोल्काता सहरमा औद्योगिक र व्यवसायिक गतिविधिको केन्द्र नै रहेको थियो । र, यही औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरु वामपन्थी आन्दोलनतर्फ आकर्षित हुँदै आएका थिए ।

बंगालमा भारतीय क्रान्तिकारीहरु अबानी मुखर्जी, एमएन रोय, मुजफ्फार अहमद, सुवासचन्द्र बोस, औरबिन्द गोस, साहित्यकार रवीन्द्रनाथ टैगोरजस्ता हस्तीले जन्म लिएका थिए ।
स्वतन्त्रतासँगै भारत र पाकिस्तान विभाजित भएजस्तै बंगाल पनि दुई भागमा विभाजित भयो । मुसलमान बहुल पूर्वी बंगाल पूर्वी पाकिस्तानका रुपमा स्थापित भयो भने हिन्दूबहुल पश्चिम बंगाल भारतमा मिल्न गयो ।

स्वतन्त्रता पश्चात पश्चिम बंगालको राजनीतिमा लामो समयसम्म भारतीय राष्ट्रिय कांग्रेसकै हालिमुहाली थियो । उदाहरणका लागि– स्वतन्त्रतापछि सन् १९५१–५२ मा आयोजना भएको निर्वाचनमा पश्चिम बंगालमा तत्काल कायम ३४ मध्ये २१ सिट कांग्रेसले जितेको थियो । उक्त निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी भाकपाले केबल ५ सिट जितेको थियो ।
त्यसैगरी, सन् १९५२ मा आयोजना गरिएको पश्चिम बंगाल विधानसभा निर्वाचनमा कांग्रेसले २३८ मध्ये १५० सिट जितेको थियो भने भाकपाले २८ सिट जितेको थियो ।

भारत–चीन युद्ध र भाकपामा विभाजन

सन् १९६२ मा भारत र चीनबीच भएको युद्धले भारत र बंगालको राजनीतिमा धेरै परिवर्तन ल्याइदियो । साम्यवादी चीनलाई आफ्नो सैद्धान्तिक आदर्श मान्ने भारतीय कम्युनिस्ष्ट पार्टी (भाकपा) चीनविरुद्धको युद्धका बेला चीनकै पक्षमा उभियो ।

युद्धमा घाइते भएका भारतीय सैनिकका लागि रक्तदान गर्ने कार्यलाई समेत भाकपाले पार्टीविरोधी गतिविधिको संज्ञा दिन लाग्यो । यसबाट भाकपामा दुई धार देखा पर्न गयो ।

सन् १९६४ मा पुगेर यो पार्टी भाकपा र भाकपा (मार्क्सवादी ) गरी दुई भागमा विभाजित भयो । विभाजनपछि भाकपाले सोभियत संघनिकट सत्तारुढ कांग्रेससँग सहकार्य थाल्यो भने भाकपा (मार्क्सवादी) चाहिँ कांग्रेस र सरकारको विरोधमा उत्रियो ।

धेरै कमेन्ट गरिएका