१५ बैशाख २०८१, शनिबार

विजयनगर ७ मा ३५ कुकुरको बन्ध्याकरण

(विजयनगर) कपिलवस्तु, १० चैत्र ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले ३५ ओटा छाडा तथा सामुदायिक कुकुरलाई बन्ध्याकरण गरेको छ । कुकुरको बन्ध्याकरणसँगै रेबिज रोग नियन्त्रण गर्न रेबिज रोग विरुद्ध खोप समेत लगाइएको वडा अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिए ।

चैत्र ९ र १० गते दुई दिनसम्म चलेको कुकुर बन्ध्याकरण शिविरमार्फत ३५ ओटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको वडा अध्यक्ष चौधरीले बताए । ७ नम्बर वडा कार्यालयको आयोजना र पशु सहयोगी हातहरु बुटवलको प्राविधिक सहयोगमा कुकुरको बध्याकरण गरिएको उनले बताए ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धेरै मात्रामा रहेका सामुदायिक कुकुरहरुको जन्मदरमा कमी ल्याउन कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताएका छन् । उनले कुकुरको संख्या धेरै भएकोले जताततै फोहोर हुने गरेको बताउँदै सडक दुर्घटनामा समेत कमी आउने जिकिर गरे । जथाभावी छाडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिम प्राप्त पशु विज्ञको टोलीले रेबिज रोगमुक्त बनाउने लक्ष्यसहित कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको अध्यक्ष थापााको भनाई छ ।

यसैगरी वडा अध्यक्ष दिनेश कुमार चौधरीले अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रूपमा बढ्नबाट रोक्न कुकुर बन्ध्याकरण र खोप अभियान सञ्चालन गरेको बताए । कुकुरको टोकाइबाट मानवमा हुने क्षतिलाई अन्त्य गर्नुपर्ने बताउँदै यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए ।

यस्तै डा. पशु चित्सिक कमल आचार्यले रेबिज रोगबारे सर्वसाधारणलाई चेतना दिने बताएका छन् । उनले खोप लगाइएका कुकुरको सर्वसाधारणले चिन्न सजिलो होस् भनि दाहिने कानको थोरै भाग काटिएको बताए । उपचारपछि कुकुरलाई २४ घण्टापछि समातिएकै स्थानमा छाडिएको उनले बताए ।

विजयनगर गाउँपालिका पशु विकास शाखाका प्रमुख प्रहलाद ठाकुरले समय–समयमा घर–पालुवा कुकुरको स्वास्थ्य परीक्षण गराउन तथा कुकुरबाट सर्न सक्ने विभिन्न रोगबाट बच्ने उपायबारे अभिमुखीकरण गराउन सके थप प्रभावकारी हुने बताए । पशु स्वास्थ्य र मानवीय स्वास्थ्यलाई मध्यनजर गर्दै कुकुर बन्ध्याकरण तथा खोप अभियान कार्यक्रम सुरुवात गरिएको उनले बताए ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट