युवामा देशमै केही गर्ने भावना जागृत गराउन आवश्यक : ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताएका छन्।
शुक्रवारको सातौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्वविद्यालयहरू खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जाने प्रवृत्ति रहेको बताए। उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए।
उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए। उनले युवा पुस्तालाई कुनै पनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्ने कुरा बुझाउन जरुरी रहेको बताए। युवाहरूमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताए।
उनले भने, ‘युवाहरूमा अध्ययनका लागि बाहिर जान नसके कामका लागि बाहिर जाने प्रवृत्ति अर्को छ। धेरै ठूलो संख्यामा छ। धेरै विद्यार्थीको ठूलो संख्या पढेर फर्किनेभन्दा पनि उतै पढेर उतै जीविका चलाउने मानसिकतामा देखिन्छन्। यसलाई रोक्न दुई कुरा आवश्यक छ। हामीले युवा पंक्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनु पर्छ। हाम्रा युवाहरू देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, हामी गर्नसक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ।’
अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशीलताको प्रवृत्ति जगाउने, उद्यमशीलताको विकास हुने, उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए। उनले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गरे।
