भारतका प्रधानमन्त्रीले उद्घाटन गरे भारतकै सबैभन्दा लामो सुदर्शन पुल

सेयर गर्नुहोस

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहनगर गुजरातमा देशको सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो। अब यसलाई ‘सुदर्शन सेतु’ नाम दिइएको छ । बेट द्वारका मुख्यद्वारका सहरबाट करिब ३० किलोमिटर पर ओखा बन्दरगाह नजिक एक टापु छ । भगवान् श्रीकृष्णको प्रसिद्ध द्वारकाधीश मन्दिर यहीँ अवस्थित छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात भ्रमणमा छन् । आइतबार प्रधानमन्त्री मोदीले यहाँको बेट द्वारका मन्दिरमा पूजाअर्चना गरेका थिए । यसपछि सबैभन्दा लामो केबल ब्रिज ‘सुदर्शन सेतु’ को उद्घाटन गरिएको छ । यसपछि प्रधानमन्त्री मोदीले द्वारकाको पाँचकुई समुद्र तटमा स्कुबा डाइभिङ पनि गरेका थिए । यसै क्रममा प्रधानमन्त्री मोदीले गहिरो समुन्द्रमा गएर भगवान कृष्णको नगर द्वारका डुबेको ठाउँमा प्रार्थना गरे । यो प्राचीन शहर भगवान श्री कृष्णसँग सम्बन्धित छ, जुन वैभव र समृद्धिको केन्द्र थियो। स्कुबा डाइभिङका क्रममा उनको सुरक्षाका लागि भारतीय नौसेनाका अधिकारीहरू खटिएका थिए।

मोदीले उद्घाटनअघि यस पुललाई ‘गुजरातको विकास यात्राको एक अहम अवसर’ भनेका छन् । उनले बेट द्वारका मन्दिरमा पूजाअर्चना पनि गरेका छन् । यस पुललाई यहाँका बासिन्दा र द्वारकाधीश मन्दिरमा आउने श्रद्धालुका लागि धेरै महत्त्वपूर्ण मानिएको छ ।
ओखा र बेट द्वारकाबीच आउन जान सहज बनाउनका लागि यस परियोजनाको शुरुवात सन् २०१७ मा भएको थियो। पहिले डुंगाबाट मात्रै यस द्वीपमा जान सकिन्थ्यो ।

यस पुलको निर्माणमा ९७८ करोड भारतीय रुपैयाँ खर्च भएको छ। यस पुलमा सोलर प्यानल पनि लगाइएको छ । जसबाट एक मेगावाट बिजुली निस्किन्छ ।

Facebook Comments Box