नयाँ पार्टी खोल्दैछन् राजेन्द्र महतो !

सेयर गर्नुहोस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो नेतृत्वमा अलग्गै पार्टी बनाउन कार्यकर्ता प्रशिक्षण भेलाको आयोजन गर्ने भएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै उनी पार्टी छोड्ने चरणमा पुगेको उनी निकटका नेताहरुले बताएका छन् ।

महतो निकट नेताहरुका अनुसार उनले काठमाडौंमा आज राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानको घोषणा गर्दैछन् । यो अभियान सुरु गरेर नेता कार्यकर्ता बटुल्ने र पछि पार्टीको रुप दिने महतोको योजना छ । लोसपाका सहमहासचिव सन्तोष मेहताले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महतोले राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने बताए ।

‘राष्ट्रिय मुक्ति क्रान्ति : बहुल राष्ट्रिय राज्य स्थापनाको निमित्त आहृवान’ भनेर उनले अवधारणापत्र प्रस्तुत गर्नेछन् । महतो र आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा तयार पारेको अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । स्व-देशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको अवधारणामा अभियान थाल्ने दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उल्लेख छ ‘नेपालका बहुलराष्ट्रहरु नै वर्तमान नेपाल राज्यको अस्तित्व हो’ । फरक-फरक राष्ट्रियताहरुको सहअस्तित्वले बहुल राष्ट्रिय राज्य बन्ने व्याख्या दस्तावेजमा छ ।

नेता महतोले सुरुमा गजेन्द्र नारायण सिंहको लिगेसी बोकेको सद्भावना पार्टीलाई फेरि ब्युँताउने योजना बनाएका थिए । तर, मधेशीसँगै आदिवासी, जनजाति र दलित समुदायका मागलाई समेट्दै अघि बढेमा शक्तिशाली राजनीतिक संगठन बन्न सक्ने आँकलन गरेका उनले आदिवासी जनजाति लगायतलाई समेत समेट्ने र संगठनमा पहाड र मधेशलाई जोडेर समावेशी स्वरुप दिने रणनीति अपनाएका हुन् ।

महतोले लोसपामा हाल असन्तुष्ट रहेका नेताहरुलाई समेट्ने गृहकार्य पनि गरिरहेका छन् । हिजो नै महासचिव केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पद छोड्न र नेतृत्व हस्तान्तरण गर्न पत्र लेखे । महतोले आफ्नो समूहमा पार्टीका भूमिकाविहीन र असन्तुष्ट नेताहरुलाई तान्ने प्रयास गरिरहेका बेला झाले अध्यक्षलाई यस्तो पत्र लेखेका हुन् । अहिले उनी पनि महतो समूहमा सक्रिय छन् ।

हालै, धनुषामा कार्यकर्ता भेलामा अध्यक्ष ठाकुरले पार्टीको अनुशासन विपरीत गतिविधि गरे महतोलाई कारबाही गर्ने धम्की दिएका थिए । ठाकुरले पार्टी पदाधिकारी चयन गर्दा आफू निकटका नेता कार्यकर्ताहरुलाई नराखेकोमा पनि महतो असन्तुष्ट बनेका हुन् । ठाकुर निकट नेताहरुका अनुसार पार्टी अध्यक्ष बन्न पाउने सम्भावना नदेखेपछि महतो असन्तुष्ट बनेका हुन् । पार्टीमा आफू कमजोर बन्दै गएको अवस्थामा नेतृत्व पाउन उनले प्रयास गरे । तर, ठाकुरले अध्यक्ष पद छोड्न मानेनन् । महाधिवेशनबाटै नेतृत्वको टुंगो लाग्ने वैधानिक बाटो हुँदाहुँदै पार्टीमा किचलो झिकेको ठाकुर निकट नेताको आरोप छ ।

‘पार्टी खोल्न लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा महतोले पत्रकार सम्मेलन गरेरै आफ्ना कुराहरु राख्ने बताए । उनले राजनीतिक दल खोल्न पृष्ठभूमि तयार गर्न विभिन्न जिल्लाबाट अगुवा कार्यकर्तालाई तीन दिवसीय भेलाका लागि काठमाडौं बोलाएका छन्।

त्यस भेलाबाट कार्यकर्ता प्रशिक्षण गर्ने र जिल्ला-जिल्लामा संगठन बिस्तार गर्ने योजना उनको छ। तीन दिने भेलाका लागि तराई मधेशका २२ जिल्लाबाट नेता, कार्यकर्ता काठमाडौं बोलाइएका छन् । तीमध्ये अधिकांश लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र हाल अस्तित्वमा नरहेको सद्भावना पार्टीका कार्यकर्ता हुन् ।

केही महिनादेखि महतोले लोसपाको बैठक बहिष्कार गर्दै आएका छन् । हालै भएको केन्द्रीय कार्यसमिति बैठक पनि उनले बहिष्कार गरे । पार्टी कार्यालयमा उनको आऊ-जाऊ पनि बन्द भएको नेताहरुले बताएका छन् ।

Facebook Comments Box