जंगली जनावरबाट बाली जोगाउन रातभर ‘मचान’को बास

कञ्चनपुर : जिल्लाकोबेलडाँडी गाउँपालिका-५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। राधापुरस्थित उनको जमिन अर्कोतर्फबाट चौधर नदीले घेरेको छ।
बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ। चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरबीच भएर बग्छ। झिलमिलामा बसोबासका लागि घर भए पनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ। खेती जोगाउन राधापुरमा ‘मचान’ बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ’, उनले भने, ‘खेतमै मचान बनाएका छौँ। राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ।’
गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ। करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्न बनाइएका मचान खेतभर छन्। यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचा राख्नेसम्मका उपाय अपनाएका छन्।
‘काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्न कोठाजस्तै बनाइएको हुन्छ। त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ। जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ’, नन्दाले भने, ‘यसले केही हदसम्म जनावर भाग्छन्।’
राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ। डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका उनी जनावरबाट जोगाउन सके वार्षिक चार लाख रुपैाँसम्मको कारोबार हुने गरेको बताउँछन्।
निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी-५ का गोविन्द रानाले बताए। ‘यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ। तर के गर्ने जोगाउन सकिँदैन’, उनले भने, ‘रातभर सुत्न पाउँदैनौँ। विद्युतको सुविधा पनि छैन। मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ।’
राधापुरमा बस्न खेतभर व्यक्तिपिच्छे मचान घर छन्। वर्षौँदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरूको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ। ‘राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ। जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो’, बेलडाँडी-५ कै श्यामलाल रानाले भने, ‘तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन।’
उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गरेका छन्। राष्ट्रिय निकुञ्जले तारबार गरे जनावरबाट बाली जोगाउन सकिने उनी बताउँछन्।