काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै छ। पार्टी कार्यालय च्यासलमा बैठक विहान ११ बजे बस्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ। केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको हो। एमालेले बैठकमा पेस हुने ६ वटा एजेण्डा तय गरेको छ।
सचिवालयको निर्णय र सुझाव अनुसार केन्द्रीय कमिटी बैठकमा पेस हुने मुख्य ६ वटा एजेण्डा तय गरेको प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताए।
गौतमका अनुसार पहिलो एजेण्डामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीति परिस्थितिबारे जानकारी दिनेगरी सम्बोधन गर्ने छन्, दोस्रो सांगठानिक कामको समीक्षा, एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, तेस्रोमा संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, चौथोमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय, पाँचौँमा जनपरिचालन र जनदबाबका एजेण्डा रहेका छन्। एमाले केन्द्रीय समितिको छैटौँ एजेण्डामा समसामयिक प्रस्तावमाथिको छलफल रहेको गौतमको भनाइ छ।
बैठकमा सरकारको कामको समीक्षा, मुलुकको अर्थतन्त्र, सरकारका असफलता, सुशासन कायम गर्न नसकेको लगायतका विषयमा बैठकलगत्तै पार्टी परिचालन गर्ने तयारी भएको उनको भनाइ छ। उनले सदन हुँदै सडकमा जनपरिचालन गरेर सरकारलाई घुँडा टेकाउने किसिमका कार्यक्रम केन्द्रीय कमिटीले तय गर्ने दाबी गरे।
यस्तै एमालले केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने भएको छ। बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो।
प्रचार विभाग प्रमुखमा गौतमका अनुसार पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। तथापि, बल्खुमै जग्गा रहेकाले त्यहीँ कार्यालय निर्माण हुन सक्ने उनको भनाइ छ।
3