गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा व्यापारी मारामा, दिगाे पहल गर्न आग्रह
भैरहवा । सिद्धार्थ संजाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि ठोस पहल गर्न प्रतिनिधि सभा सदस्य मनिष झासँग आग्रह गरेको छ । सञ्जालले छिटोभन्दा छिटो विमानस्थलको सञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।आइतबार भैरहवामा सांसद झासँग गरिएको भेटघाट तथा छलफल कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थल सञ्चालनमा आउन नसक्दा लगानी डुब्ने र यहाँका व्यवसायी व्यवसायबाट पलायन भई आफ्नो जायजेथा बैकले लिलाम गरी विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले जजिरा एयरलाईन्सबाट कुबेतको लागि अन्तर्राष्ट्रिय उडान सुरु गरेको यो विमानस्थल अन्य एयरलाईन्स र विदेशी राष्ट्रहरुमा सेवा विस्तार गर्दै जानुपर्नेमा विद्यमान अवस्थामा चलिरहेका एयरलाईन्स सेवा समेत पनि बन्द हुनाले यस क्षेत्रका आम जनसमुदायमा निराशा छाएको बताए ।
‘मुआब्जासहित राज्यको ४३ अर्ब र निजी क्षेत्रले पनि ठूलाठूला स्टार होटल, पर्यटन क्षेत्र लगायतमा अरबौ लगानी गरिसको यस विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन भइ विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशमा मात्र नभएर पश्चिम नेपालकै उद्योगी व्यवसायी तथा पर्यटन व्यवसायी र आम जनसमुदायद्वारा यस क्षेत्रको व्यवसायिक गतिविधि पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरेका थिए, ’ज्ञवालीले भने ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल उद्घाटन भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएको र विमानस्थल सञ्चालन भएपछि अन्य समस्या पनि समाधान हुने आशा राखेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सञ्जालले विभिन्न खालको दबाबमूलक कार्यक्रम गरेको तथा पर्यटनमन्त्रीबाट गैरजिम्मेवारीपूर्ण कुरा आएको बताए । उनले भने, ‘पर्यटको संख्यामा वृद्धि भए पनि पर्यटकको बसाई लम्बिन सकेको छैन । नेपालको पर्यटन नीतिका कारण व्यवसाय गर्न ग्राहो छ ।’
सञ्जालका महासचिव संजय बजिमयले हवाई तथा पर्यटन क्षेत्रमा केन्द्रको एकाधिकार रहेको बताए । उनले भने, ‘सरकारले नभइ निजी क्षेत्रले व्यापार गर्नुपर्छ । ’उनले भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी भारु रुपैयाँ ल्याउन नदिदा नेपालमा आउने पर्यटकले सोचेअनुरुप खर्च गर्न नसकेको बताए ।व्यवसायीका माग सुनेपछि सांसद् झाले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अपनत्व लिने र आवाज उठाउने बताए । उनले हालको पर्यटनमन्त्रीले पर्यटन क्षेत्र बुझ्न नसक्नुभएको जस्तो लागेको बताए । उनले भने, ‘राज्य सहजकर्ता बन्नुपर्छ । विमानस्थल सञ्चालन हाम्रा लागि अहिलेसम्म मुद्दा हो । समाधान नभए समस्याको रुपमा हुन्छ । ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता समेत रहेका नेता झाले विमानस्थल सञ्चालनका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसलाई पार्टीगत रुपमा हेर्नुहुँदैन । विमानस्थल सञ्चालनमा आइ यो वा त्यो पार्टीले ‘क्रेडिट’ लिन्छ भनेर डराउनुपर्दैन ।’ उनले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संसदीय समिति (अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति) मा ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिए ।
