युद्धबन्दी बोकेको विमान युक्रेनले खसालेको रुसको आरोप

सेयर गर्नुहोस

रुसले युक्रेनमाथि युद्धबन्दी बोकेको सैन्य विमान खसालेको आरोप लगाएको छ।

रुसको रक्षा मन्त्रालयले आईएल–७६ विमानले रुसको आक्रमणमा समातिएका ६५ युक्रेनी सैनिक, छ चालक दल र तीन एस्कर्टलाई लैजाँदै गरेको जनाएको छ। खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले यातायात विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले योघटनालाई ‘आतंकवादी कार्य’ भनेको छ।

मन्त्रालयका अनुसार यो दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमतिको केही घण्टाअघि भएको हो। ‘स्थापित अभ्यासअनुसार आदानप्रदान गरिने युक्रेनी सैनिकलाई सैन्य यातायात विमानमार्फत बेलगोरोड विमानस्थलमा लगिँदैछ भन्ने युक्रेनी नेतृत्वलाई राम्रोसँग थाहा थियो’, मन्त्रालयले भनेको छ।

यसबारे किएभको कुनै प्रतिक्रिया आएको छैन। स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो। पछि उक्त दाबी फिर्ता लिइएको थियो।

बन्दीहरूको आदानप्रदानका लागि जिम्मेवार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताए। गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले दुर्घटना करिब ८ बजे जिएमटीमा बेलगोरोड क्षेत्रको राजधानीको उत्तरपूर्वमा कोरोचान्स्की जिल्लामा भएको जानकारी दिए।

युद्धबन्दीहरूसँग सम्बन्धित मुद्दाहरूका लागि जिम्मेवार एक युक्रेनी सरकारी निकायले दाबीहरूको अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box