एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण
गुल्मीकी मनिषा जीसी (विष्णु घर्ती)ले लोकसेवा आयोगले लिएका विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जीसीले एक वर्षभन्दा कम अवधिमा पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।
उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहका परीक्षा उत्तीर्ण गरेकी हुन्।
‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ’, उनले भनिन् । परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको बताइन्। ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ। विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।’
उजले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन्।
