बीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बालुवाटारस्थित निवासमै बोलाएर प्रधानमन्त्री दाहालले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिए। सेवा प्रभावित हुँदा सर्वसाधारणले दुःख पाएकाले यसलाई गम्भीररूपमा लिन उनले मन्त्री र मुख्यसचिवलाई निर्देशन दिए।
प्रतिष्ठानमा शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा छन्। यसमा ऐक्यबद्धता जनाउँदै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सोमबार प्रतिष्ठानमा तालाबन्दी गरी कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कारबाही गर्न आग्रह गर्दै मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका थिए।
