२६ भाद्र २०८१, बुधबार

६७० कैदीबन्दीको सजाय मिनाहबारे रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको सजाय मिनाह भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान र कानुनको संरक्षण र पालना गर्ने विषयमा ध्यानकर्षण पत्र बुझाउने निर्णय गरेको छ।

‘विशेष अवस्थामा कैद माफी दिन सकिने प्रावधानको गलत प्रयोग गर्दै सरकारले संविधान दिवसका दिन थुप्रै कैदीको कैद मिनाहाका लागि सिफारिस गरेको तथा कानूनका बर्खिपाल हुने गरी जघन्य अपराधमा मुछिएका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको विषयमा बैठकले भर्त्सना गरेको छ’, उनले भने।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भीमबहादुर खवाससमेतका ४९७, हर्कबहादुर लिम्बुसमेतका १७० र ज्येष्ठ नागरिक समदिन मियाँसमेतका तीन गरी ६७० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले ती कैदीको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले कारागारमा बस्दा आचरण सुध्रिएका, ५० प्रतिशत कैद भुक्तान गरेका र निश्चित उमेर कटेका कैदीको कैद मिनाहा गर्ने व्यवस्था छ।

धेरै कमेन्ट गरिएका