प्रदेश सरकार अधिकार सम्पन्न नभए संघीयता अप्ठेरोमा : मुख्यमन्त्री चौधरी

सेयर गर्नुहोस

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने बताएका छन्।

शुक्रबार गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुबाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नुपर्ने बताए।

उनले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरेका छन्।

उनले भने, ‘संघले अधिकार तल्लो तहमा नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको छ। त्यसको असर संघीयता कार्यान्वयनमा पनि पुगेको छ। सरकार रहेको तर अधिकारसम्पन्न सरकार नहुँदा संघीयता समेत कार्यान्वयन नभएको छैन।’

यस्तै उनले अहिले सङ्घीयतामा आलोचना बढिरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए। उनले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए।

अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको भन्दै उनले संघीयता विफल भए पनि संघकै कारण हुने पनि उल्लेख गरे।

उनले थपे, ‘संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्वयन हुन्छ। प्रदेश सरकारको औचित्य पनि पुष्टि हुन्छ। स्थानीय र प्रदेश सरकारले साना योजनाभन्दा पनि देखिने प्रभावकारी योजनाहरू निर्माण गर्नुपर्छ।’​

यसैगरी सबै योजना आर्थिक समृद्धिसँग जोडेर जान सके जनताको आय समेत बढेर जाने उनको भनाइ छ।

Facebook Comments Box