प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी सँग हाङजाओमा शिष्टाचार भेट गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन्।
प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए।
उनले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए।
यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताए।
उनले अल्पविकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने योजना रहेको बताए।
उनले भने, ‘संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवबाट निमन्त्रणा भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदाय समक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको छु।’
प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो। भ्रमण दल छोटो र छरितो रहेको पनि उनले दाबी गरे।