कृष्ण पौडेल- नेपाली समाजमा तीज महिलाहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपमा व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलिआएको एउटा परम्परागत संस्कृति हो । तल्कालीन समयको नेपाली समाजमा एउटी छोरीले विवाहपछिको समय माइती घर छोडेर घरमा बिताउनुपर्ने , माइत आउने दुःख बिसाउने, पीरमर्का साथीसंगीलाई सुनाउने मिठो मसिनो खाने, दुःख पोखेर मन हलुका पार्ने, सुख बाँडेर रमाइलो गर्ने पर्वको रुपमा विकसित हुँदै आएको एउटा संस्कारको नाम हो तीज ।
आफू जन्मेको घरपरिवार, गाउँसमाज सबै थोक छोडेर छोरी अर्काको घरमा पुगेकी हुन्छे । यस्तो अवस्थामा माइतीको याद कमी गर्ने एउटा महत्वपूर्ण चाडको रुपमा तीज पर्वलाई मनाउँदै आएको पाइन्छ । आज पनि केवल महिला भएकै कारण प्राकृतिक मात्र नभएर विभिन्न सामाजिक विभेदहरु महिलाले झेल्नुपरेको छ भने पुरानो समयमा त झनै महिलाको अवस्था दयानीय नै थियो । वर्ष दिनसम्म लगाइएका पुरानो साडी फेरेर नयाँ लगाउने, माइत गएर मिठो मसिनो परिपाटीसँगै तीज मनाउने चलनको विकास भएको पाइन्छ । यो पर्वले छोरीको माइतीप्रतिका सम्झनाहरु कम गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । महिलाहरु आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । अविवाहिताहरुले सुयोग्य वरको कामना गर्दै व्रत बसेमा सोचेको पुग्ने भन्ने धार्मिक मान्यता रहि आएको छ ।
विजयनगर ३ पत्थरदेईया बस्ने ७५ बर्षिय बुढि आमा सितादेवि पोखरेलले पहिले पहिलेको तिज सम्झदै भन्नुहुन्छ आज भोलिजस्तो होटलमा पाक्दैनथ्यो दर, संस्थामा पाक्दैनथ्यो दर ! अनि पिकनिकमा पनि पाक्दैनथ्यो दर । दर दिउँसै खाएर झ्याप हुने चलन त झन् अस्ति भर्खरबाट आयो । पुराना मान्छे छक्क पर्छन्, दरको नाममा दारु स्वाट्ट पारेर खुट्टा लर्खराउँदै नाच्ने जमात थिएन त्यतिबेला । दिदी बहिनीहरू मुखैले गीत गाउँथे, आमाहरू नाच्थे। बा पुस्ता लगायतका केटाहरू थपडी बजाउथ्यौं। दर पार्टीको नाममा आमाहरू बजार धाउने चलन थिएन । पार्टी प्यालेसमा दरसँग दारु लगाउने चलन थिएन। साउण्ड सिस्टममा ठुम्का लगाउने चलन झन् हुने कुरै भएन। दर रातिमै खाइन्थ्यो, खाइसकेपछि नजिकैको चौतारोमा मादल घन्किन्थ्यो। मादलको घन्काइसँगै सबै जम्मा हुन्थे अनि सुरू हुन्थ्यो रौनकता । दरभित्र दारु र मासुको प्रवेशसँगै तिजको मौलिकता हराउँदै गयो । चौपारीको नाचगान पार्टी प्यालेस स¥यो, आमाहरुको मौलिक भाकालाई आधुनिकताले कता सा¥यो कता ।
आजभोलि जस्तो सामाजिक सञ्जालमा विश्लेषण गर्ने जमाना थिएन। खबर ल्याइपु¥याउनेको नाम त आमाहरूले बीबीसी राख्दिन्थे उबेला। झन् सामाजिक सञ्जाल कहाँ हुनु। कोरोना कहरसँगै कोठामा सीमित भएको तीजको नाच आजभोलि टिकटकमा देख्न सकिन्छ ।
उ बेला आमाहरू खुला चौपारीमा मादल र थपडी मै नाच्दिन्थे, आजभोलि बन्द कोठाभित्र उत्ताउलो तीज गीतमा नाच्छन् बुहारीहरू अनि अपलोड गर्छन् टिकटकमा । आजभोलि मौलिक तीजका भाका सुन्ननपाउदा खल्लो लाग्छ , अलिपरको चौपारी सम्झन्छ ु। मादल बजाउने साथीभाइ काका ठूलाबा सम्झन्छु । गीत निकालेर थपडीको तालमा आफैं गाउँदै आफैं नाच्ने ठूली आमाहरू सम्झन्छु ।
सबै हरायो । सबै हामीले भोग्यौ, हामीले नै लोप गरायौं। अरु दस वर्षपछि छोरोलाई ’एकादेशको कथा’ भन्दै उबेलाको तीज कथा भन्दिए भने उ पत्याउने छैन, सोच्नेछ ’बाको कथा काल्पनिक हो !’उसलाई के थाहा ! दरमा दारु हुन्थेन, दर राति खाइन्थ्यो, घरमा पाहुना आउथे, चौपारीमा नाच घन्किन्थ्यो, गीत आमाहरूले गाउथे भन्ने कुरा ? उसलाइ त यो थाहा हुनेछ ! दरमा दारु अनिवार्य छ, दर महिना दिन अघिबाट खाइन्छ, तीज गीत साउण्ड सिस्टममा लगाउने अनि केटा र केटी ठुम्का लगाउने हो।
हिन्दू धर्मका धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न पुगिन् । तीजका रहरहरु कसैको देखासिकी र कहरहरुमा परिणत गर्दै मौलिकतालाई मासेर तीज मनाउँदै गर्दा हामीले तीजको आफ्नै महत्व हराउँदै गएको छ । यसरी कठोर व्रत बसेको देखेपछि शिवजी प्रकट भई सोचेको कुरा पुगोस् भनेर आशीर्वाद दिएपछि शिव पार्वतीको बिहे भएको कथा छ । यही दिनलाई र कथालाई आधार मानेर तीजको सुरुवात भएको विश्वास गरिन्छ भने यो पर्व पौराणिक कालदेखि मनाइँदै आएको समेत धार्मिक मान्यता छ ।
विजयनगर गाउँपालिका ६ बद्धौर निवासी ७२ वर्षीय रन्नतादेवी भण्डारीले सुनाउँछिन् “तीजका कुरा गर्दा सब भन्दा याद आउने क्षण भनेकै घरमा आउने पाहुना हुन्थे । खुसी पनि त्यहीँ भेटिन्थ्यो । पाहुना आउँदा घरै उज्यालो, आहा ! कस्तो जमाना थियो भने नि ! सम्झँदा पनि अचम्म लाग्छ । चाडपर्व आउँदा घरमा पाहुना आउथे अनि हामी बच्चाबच्चीलाई संसार भरको खुसी मिल्थ्यो । आउने पाहुनाले कोशेली ल्याउथे, बिस्कुट, चकलेट या चाउचाउ । घरमा पाहुना आउँदा बाआमा हामीसँग रिसाउन पाउनुहुन्थेन । घरको काम पनि उस्तै सजिलो हुन्थ्यो । आएका पाहुनाले हातेमालो गर्दा दिनभरको काम केही घन्टामै खतम ! फेरि तीजमा आउने पाहुना भनेकै चेलीबेटी हुन्थे । उति बेलाका तीजमा आमा पट्टिका दिदीबहिनीले घर भरिन्थे । घरभरि सानीमा र फुपूहरू भएपछि हामीलाई मस्ती मात्र । कोशेली बढी ल्याउँथे अनि घाँस दाउरा लगायत घरायसी काम बढी गर्दिन्थे । पाहुना आउँदाको खुसी आजभोलिका केटाकेटीलाई के थाहा ! उबेला जस्तो दुई चार दिन बस्ने पाहुना आउने जमाना पनि छैन ।” उनले आफ्नो रितिरिवाजलाई बिर्सन नहुने बताइन् । आउने पुस्तालाई आफ्नो संस्कृतिलाई हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताउँदै विदेशी सस्कारलाई अनुकरण गर्न नहुने भण्डारीको भनाई छ ।
यस्तै विजयनगर गाउँपालिका –६ प्रेमनगर भटनी बस्ने स्थानीय तेज प्रसाद पौडेलले नारीको पीरमर्का पोख्ने दिनको रुपमा चिनिँदै आएको तीज चाडको मनाउने शैलीमा पछिल्लो समय धेरै परिवर्तन आएको बताए । नेपाली जनजीवनको सामाजिक, धार्मिक, साँस्कृतिक रुपमा महिलाको अवस्थाको चित्रण गर्ने ऐतिहासिक र साँस्कृतिक स्थिति बोकेको पर्व भएको बताउँदै परम्परागत रुपमा अलिआएको तीजमा आ–आफ्नै शैलीलाई निरन्तरता दिनुको अलावा पश्चिमी (विदेशी) शैलीको अनुकरण बढ्दै गएको जिकिर गरे । उनले भने “फलस्वरुप तीज दिनानुदिन भड्किलो बन्दै छ । नेपाली महिलाहरुको महान् पर्व भन्दै गर्दा कतै आफ्नो मौलिकता नै गुमाउन थालेको त होइन ? तीजले भन्ने प्रश्न पनि जनमानसमा गुञ्जिन थालेको छन् । विशेष गरी महिलाले मनाउने चाडको रुपमा आफ्नो पहिचान कायम राख्न सकिएको देखिदैन ।” उनले आफ्नै मौलिकता झल्किने किसिमको बाजागाजा, पहिरन भेषभुषा हराउँदै गएकोले यसको संरक्षणमा सबैलाई आफ्नै मौलिकता अनुसार तीज मनाउन अनुरोध गरे ।
आदिशक्ति भगवान् शिवकी अर्धांगिनी हिमालयकी छोरी पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कनै पनि बाधा उत्पन्न नहोस् भनेर पहिलो पटक व्रत बसेकी थिइन् । त्यसै दिनलाई आधार मानेर आज पर्यन्त हिन्दू महिलाहरुले तीजलाई पर्वको रुपमा मनाउँदै आएको किंवदन्ती रहि आएको छ । त्यसो त पत्याउन नसकिने किसिमका धार्मिक मान्यता तथा किंवदन्तीले पनि कतै यो पुरुषप्रधान समाजका एउटा पुरुष पात्रले लेखेको फगत एउटा कथा त होइन भनेर पनि धेरैले सोच्न÷बुझ्नथालेका छन् ।
पाटी प्यालेसमा टिकट सिस्टममा दर खाने, महिनौं अगाडिदेखि तीज मनाउने प्रचलन बढ्दै गएको सहर बजारमा देखिन्छ । यसमा आयस्तर कमजोर भएका महिलाहरुको पनि उपस्थिति हुन्छ नै । जसले सामान्य रुपमा चलिरहेको जीवनशैलीलाई असन्तुलित पार्ने गरेको छ । दिदीबहिनी भेला हुनु, दुःखसुखका कुरा गर्नु आफैँमा राम्रो कुरा हो । यसबाट समाधानको उपाय पनि निस्किन सक्छन् । तर तँ भन्दा म केमा कम भन्ने शैलीमा मनाइने गरिँदा पछिल्लो समय तीज कार्यक्रममा भने संयम अपनाउनु आवश्यक देखिन्छ । व्यावसायिकताका नाममा विभिन्न किसिमका भड्किला गीतहरु धेरै आउन थालेका छन् ।
तीजलाई यसरी तडकभडकका साथ मनाउनु आवश्यक पनि छैन । यसले त केवल विकृति मात्र निम्त्याउँछ । आजभोलि तीजका ‘टिपिकल’ गीतभन्दा पनि भड्किला किसिमका गीतहरु बजारमा धेरै पाइन्छ । यसले बजारमा आफ्नो स्थान लिन थालेसँगै हाम्रो तीजको मर्म र अस्तित्व नै संकटमा पर्ने त होइन भन्ने खालका शंका पनि उब्जन थालेका छन् । तीजको धार्मिक, सामाजिक सांस्कृतिक महत्वलाई अर्को पुस्ताले बुझ्न पाउने कि नपाउने भन्ने प्रश्न पनि खडा हुन थालेको छ । तीजका गीतमा राम्रो शब्द र सभ्य भाषाको प्रयोग गरेर पनि व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ । जसले आफ्नो संस्कृतिको जगेर्ना गर्न सकिन्छ । मौलिकता, आफ्नोपनलाई समयक्रमसँगै परिवर्तन परिमार्जन गर्दै लैजान सकिएला तर पराईकरण गर्नु भनेको आफू नहुनु हो । आफ्नो नहुनु हो । पराइसँग हाँसेर पनि खुसी हुन सकिँदैन ।
3