लमही, २४ साउन । लमही नगरपालिकाले तरकारी बजार व्यवस्थापन नगर्दा आफूले उत्पादन गरेको तरकारी बेच्न किसानहरू लमहीका सडक पेटीमा आश्रय लिँदै आएका छन । तरकारी विक्रि वितरणका लागि निश्चित स्थान नहुँदा उनीहरू सडक पेटीमा आश्रय लिँदै आएको बताउँछन ।
लमही नगरपालिकाका अधिकांश वडाहरूमा मौसमी तथा वेमौसमी तरकारी उत्पादनका लागि हव मानिन्छ । यहाँका किसानहरू तरकारी उत्पादन गर्दै आफैले उत्पादन गरेको तरकारी लमही बजारमा बसेर आफैले बिक्रीवितरण गर्दै आएका छन । लमहीमा दैनिक सयौ क्वीन्टल तरकारी बिक्री हुने गर्दछ । तरकारी संकलन केन्द्र नभएका कारण स्वयं किसानहरूले उत्पादन र बिक्री स्वयं आफैैले गर्ने गर्दछन ।
संकलन केन्द्र नहँुदा आफूले उत्पादन गरेको तरकारी कहाँ राखेर बिक्री गर्ने भन्ने स्वयं किसानलाई नै थाहा नहुने तरकारी उत्पादन कृषक रामविलास चौधरी बताउँछन । ‘पानी नआउँदा त सजिलै लमहीका सडकमा बस्छौं पानी आयो भने कहाँ बसेर बेच्ने भन्ने अन्यौल हुन्छ । बजारमा रहेका घरहरूका पेटीमा आश्रय लिन्छौं,’ उनले भने ।
यद्यपि पेटीहरूमा आश्रय लिन भने यति सहज नभएको अर्का व्यापारी रामपति चौधरी बताउँछिन । फोहोर हुन्छ भन्छन । बिहान सरसफाइको वेलामा पिँढीमा बसेपछि सफाइ गर्न पाउँदैन अनि मालिक फोहोरो भयो भन्दै कराउँछन मलिनो मुहार लगाउँदै चौधरी भन्छिन ।
१५ वर्ष भयो तरकारी उत्पादन गरेर आफैले बिक्री गरेको । कति निर्वाचन भए सबै निर्वाचनमा तरकारी बिक्री वितरणलाई व्यवस्थापन गर्छौ भन्दै भोट माग्छन दियो निर्वाचन जिते पछि फर्किए हामीलाई हेरेका पनि छैनन लमही नगरपालिका–७ भैसकुर्माकी सिता चौधरीले दुखेसो गरिन । केही समय हामी लमहीको सार्वजनिक बगैंचामा तरकारी राख्ने बिक्री गर्ने गरेका थियौं । त्यहाँबाट पनि हटाइयो अहिले सडकमै बेच्छौं पानी आउँदा तरकारी कहाँ लाने स्थानीय सरकारले सुनेन् उनले भनिन ।
यता लमही नगरपालिकाका पूर्व मेयर कुल बहादुर केसीले आफनो पहिलो कार्यकालबाट लमहीलाई राष्ट्रिय तरकारी उपजकेन्द्र बनाउने कार्ययोजना सहित पारित गरेका थिए । त्यसका लागि लमही नपा ४ मा रहेको पुरानो कृषि उपज केन्द्रलाई पुनमर्मत समेत गरिएको लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए ।
सो स्थानमा प्रदेश सरकारको ट्रमा सेन्टर बनाउने जग्गा छनौटमा परे लगत्तै कृषि उपज केन्द्रका निर्माणधिन संरचना भत्काइएको पनि उनले बताए । लमही नगरपालिकाका मेयर जोगरा चौधरीले भने तरकारी संकलनको लागि उपयुक्त जग्गाको खोजीमा रहेको बताउँछन । उनले ढिलो भए पनि किसानलाई राहत हुने गरि आफ्नो कार्यकालमा व्यवस्थापन गर्ने बताए ।
3