१३ बैशाख २०८१, बिहीबार

सिकलसेल एनिमियाबाट पश्चिम तराईका १५ जिल्ला प्रभावित

कपिलवस्तु – पश्चिम तराईका १५ जिल्ला सिकलसेल एनिमिया रोगबाट प्रभावित रहेका देखिएको छ । आदिवासी जनजाति समुदायका मानिसमा धेरै देखिने सिकलसेल एनिमिया रोगबाट कपिलवस्तु, कैलाली, बर्दिया कञ्चनपुरलगायतका जिल्ला प्रभावित भएका छन् ।

फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) ले धनगढीमा गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

संस्थाका पाठ्यक्रम निर्देशक प्रा.डा शुभेषराज कायस्थले केही वर्षअघि गरिएको एउटा सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतका रोगबाट पीडित देखिएको जानकारी दिनुभयो ।

डाक्टरका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमाशय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्‍याउँछ ।

विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको डा. कायस्थले बताउनुभयो । नेपालमा पहिलोपटक २०७१ सालमा सरकारले रोगीको उपचार व्यवस्थापनमा एक लाख रुपैयाँ बराबरको निःशुल्क सेवा दिने निर्णय गरेको थियो ।

समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने डाक्टरको भनाइ छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट