१३ बैशाख २०८१, बिहीबार

नियम विपरीत नदीजन्य सामग्री ओसारपसार गरिरहेका १३ वटा ट्रिपर प्रहरी नियन्त्रणमा

गोरखा – गोरखामा नियम विपरीत नदिजन्य सामग्री ओसारपसार गरिरहेका १३ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमवार राति र मङ्गलवार बिहान जिल्लाका विभिन्न ठाउँबाट १३ वटा ट्रिपर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको जिल्लाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो ।

१० वटा ट्रिपर इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, एउटा जिल्ला प्रहरी कार्यालय र ३ वटा प्रहरी चौकी नयाँ साँघुको टोलीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

नदीजन्य पदार्थ उत्खनन, संकलन र ओसारपसार सम्बन्धी जिल्लास्तरीय अनुगमन समितिको गत पुस २४ गते बसेको बैठकले नदीजन्य सामग्री उत्खननमा अर्को निर्णय नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयनका क्रममा नदीजन्य सामग्री ओसारपसार गरिरहेका ट्रिपर नियन्त्रणमा लिइएको एसपी खनालले जानकारी दिनुभयो ।

‘जिल्लाका सबै क्रसर र बालुवा प्रशोधन उद्योग बन्द छन्, नदीमा सामग्री उत्खनन् र संकलनमा पनि रोक लगाइएको छ’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा नदीजन्य सामग्री उत्खनन् र ओसारपसार गर्नु अनुगमन समितिको निर्णय विपरीत भएकाले नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकालाई लेखेका छौँ।’

नियन्त्रणमा लिइएका ट्रिपर सञ्चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पत्राचार गरिएको खनालको भनाइ छ । पालिकाहरूले ती ट्रिपर सञ्चालकलाई जरिवाना गराउने भएका छन् ।

पालिकाको कार्यविधि अनुसार पक्राउ परेका ट्रिपर सञ्चालकलाई न्यूनतम २० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

अनुगमन समितिको पुष २४ गतेको बैठकले दर्ता भएर नवीकरण नभएका क्रसर उद्योग, आयोजनाको नाममा अनुमति लिएर आयोजनाको अवधि सकिँदा पनि संचालनमा रहेका, आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गरेका उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्रालयले गएकाे पुष २० गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्न परिपत्र गरेको थियो । त्यसै क्रममा पर्यटन तथा उद्योग कार्यालय गोरखाबाट क्रसर तथा बालुवा प्रशोधन उद्योगको विवरण संकलन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योग बन्द गराइएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट