१३ बैशाख २०८१, बिहीबार

भारतबाट आयो युरिया मल, तर ढुवानी भएन

पर्सा । मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा कृषि सामग्री कम्पनीको युरिया मल सहज रूपमा ढुवानी हुन सकेको छैन । दुई सातायता भारतबाट ‘जी टु जी’ प्रकृयाबाट ठूलो परिमाणमा युरिया मल प्राप्त भइसक्दा पनि कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले करिब एक चौथाइ मल मात्र परिचालन गर्न सकेको छ ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा आइतबार साँझ सम्ममा ४ हजार ७ सय ५० मेटन युरिया मल भित्रिसक्दा १ हजार ४ सय ४१ मेटन मातहतका कार्यालयमा परिचालन गरेको छ ।
कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, माघ ४ देखि ८ सम्मको ५ दिनको अवधिमा यति परिमाणमा मल परिचालन भएको हो । यस अवधिमा सबैभन्दा बढी रौतहटमा ४ सय ७० मेटन, धुलिखेलमा २ सय ३ मेटन, काठमाडौंमा १ सय ३६ मेटन, गजुरीमा २१ मेटन, त्रिशूलीमा ६० मेटन, हेटौंडामा २ सय ४१ मेटन, सिन्धुलीमा १ सय १३ मेटन, भरतपुरमा १७ मेटन, पर्वतमा १ सय ३० मेटन र पोखरामा ६० मेटन युरिया मल परिचालन भएको छ ।

हालसम्म रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा गरी ७ रेल्वे र्‍याकमा १ हजार ७ सय ५० मेटन जी टु जीको युरिया मल भित्रिसकेको कुमारले जानकारी दिए । २ साता अघिदेखि युरिया मल भित्रिन थालेको हो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसिएफ) ले मलेसियाबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै उक्त मल नेपाल ल्याइरहेको छ । अब ६ रेल्वे र्‍याकमा १२ हजार ५ सय युरिया मल आउन बाँकी रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट