१३ बैशाख २०८१, बिहीबार

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव

काठमाडौँ। कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । शून्य कोभिड नीति पुनर्विचार गरी कठोर लकडाउन हटेसँगै चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार चीनका औषधि पसलमा टेलेनोल र एड्भिलजस्ता औषधि पाउनै कठिन छ । धेरै चिनियाँहरुले औषधि सङ्ग्रह गर्न थालेको र म्याद गुज्रेको औषधि समेत सेवन गर्न थालेको समाचारमा उल्लेख गरिएको छ ।

औषधि अभाव भएसँगै समस्याको समाधान गर्न क्षेत्रीय निकायहरुले यस्ता औषधिको बिक्री एवम् आपूर्तिमा सीमा निर्धारण समेत गर्न थालेका छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार चीनले विभिन्न औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ । चीनले कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएसँगै जापान, ताइवान, सिंगापुर, दक्षिण कोरियाजस्ता देशमा समेत औषधिको अभाव हुन थालेको बताइएको छ ।

यता चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भने कोभिड १९ नियन्त्रण गर्न औषधि उत्पादकहरुले पूर्ण क्षमतामा काम गरिरहेको जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट