बैंक र वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध लालबन्दीका व्यवसायीको प्रदर्शन

सेयर गर्नुहोस

सर्लाही : बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै लालबन्दीका उद्योगी र व्यापारी/व्यवसायी आन्दोलित भएका छन्। चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी बुधबार (आज) शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्।

लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले ‘कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर’, ‘चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ’, ‘नगद निर्यात बन्द गर’, ‘बैंक ब्याज सिंगल डिजिट कायम गर’, ‘एलसीको १०० प्रतिशत मार्जिन खारेज गर’ लेखिएको प्लेकार्डका साथ र्‍याली निकालेका थिए।

विहान साढे ११ बजे निकालिएको र्‍याली बजारबाट जनवादी चोक, डुमडुमे पुल हुँदै ट्राफिक बिटअघि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी, होटल व्यवसायी संघका अध्यक्ष हिराकाजी योन्जन, उद्योग वाणिज्य संघ लालबन्दीका निर्वतमान अध्यक्ष कल्याणकुमार जोशीले सम्बोधन गरेका थिए।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले व्यापारी, व्यवसायी अहिलेको अवस्थामा चुप लागेर बसे सडकमा पुग्ने अवस्था आउने बताए। व्यापारीका पीरमर्का नबुझी बैंकहरूले १० प्रतिशतमा आफूले लिएको ऋण १८ प्रतिशतसम्म ब्याज असुलेर ६० प्रतिशतसम्म नाफा आर्जन गरी कालोबजारी गरेको आरोप लगाए। ऋण लिएका कतिपय व्यवसायी बैंकले श्रृजना गरेको तनावका कारण हतोत्साहित भएका र कतिपयले आत्महत्यासमेत गरेको बताए।

मूल्यवृद्धिका कारण व्यवसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको भएको वक्ताहरूले तर्क गरे। शुरुमा एउटा एग्रिमेन्ट गर्ने र विस्तारै ब्याजदर बढाउँदै लैजानाले व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको र्‍यालीमा सहभागी व्यवसायीले गुनासो गरे।

बैंकहरूले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भए पनि बैंकले मनपरी गर्दै आएको‚ कारोबारको २० प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले व्यवसायीहरू अप्ठ्यारोमा परेको विरोध र्‍यालीमा सहभागी व्यवसायीले बताए।

Facebook Comments Box