विजयनगरमा युवा दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न
साउन २६ गते ( विजयनगर )
विजयनगर गाउँपालिकामा आज युवा दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । विजयनगर गाउँपालिकाको आयोजना र विजयनगर समाज तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र संस्थाको समन्वयमा उक्त प्रतियोगिता सञ्चालन भएको थियोे ।
“अबको चिन्तन शिक्षामा परिवर्तन” भन्ने मूल नाराको साथ अन्तराष्ट्रि«य युवा दिवसको अवसरमा दौड प्रतियोगिता भव्य रुपमा मनाईएको विजयनगर समाजका अध्यक्ष राम प्रघट कोरीले जानकारी दिनु भयो । आज भन्दा करिब २० वर्ष अगाडी संयुक्त राष्ट्र संघको पहलमा युवा दिवस मनाउन थालिएको हो । प्रतियोगितामा पुरुष र महिला दुबैलाई सहभागी गराईएको थियो ।
जसमा पुरुष समुहबाट आफ्नो अथक प्रयासले वडा नं. २ का महेन्द्र भरले प्रथम स्थान हासिल गर्न सफल भएको हुनु भएको छ भने वडा नं. ७ का दिनेश कोरी द्वितिय स्थान र वडा नं. ४ की सिखर बुढामगर तृतिय स्थान ल्याई सफल हुनु भएको छ ।
त्यस्तै, महिला समुहबाट आफ्नो अटुट निरन्तर अभ्यासले वडा ४ की सरिताले थारुले प्रथम स्थान हात पार्न सफल हुनु भएको छ भने वडा नं. ४ कै सवित्रा केसी द्वितिय स्थान र वडा ४ को नै अन्जना थारुले तृतिय स्थान ल्याउन सफल हुनु भएको छ ।
यस दौड प्रतियोगितामा प्रथम, हुनेलाई साईकल, शिल्ड मेडल र प्रमाण पत्र, द्वितियलाई झोला, शिल्ड मेडल र प्रमाण पत्र, तृतियलाई घडी, शिल्ड मेडल र प्रमाण पत्र पुरस्कारमा प्रदान गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
प्रतियोगितामा १८ वर्ष पुरा भएका र ४० वर्ष ननाघेको विजयनगरका युवायुवतीहरुले सो प्रतियोगितामा हर्षोल्लासका साथ सहभागिता जनाएका थिए । कार्यक्रमलाई बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले युवा दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउँदै दौड प्रतियोगितामा सहभागी भई विजयी भएका सम्पुर्ण प्रतिस्पर्धीहरुलाई उज्ज्वल भविष्यको कामनासहित बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस प्रतियोगिताले युवाहरुमा नयाँ जोस, जाँगर र उमङ्ग बढ्नुको साथै विविध किसिमका खेलहरुप्रति चासो र आकर्षण बढ्ने बताउनु भयो । यस्ता विभिन्न प्रोत्साहनमुलक कार्यक्रमहरुले युवाहरुलाई खेलप्रति सकारात्मक धारणाको विकाससँगै मार्ग निर्देशित गर्ने कुरामा थापाले जोड दिनु भयो । कार्यक्रम राम प्रघट कोरीको सञ्चालनमा सम्पन्न भएको थियो ।