१९ माघ २०७९, बिहीबार

राम्रो फिल्म बनाउन समाजलाई राम्रोसँग बुझ्नुपर्ने : भारतीय निर्देशक प्रकाश झा

काठमाडौं ।भारतीय निर्देशक प्रकाश झाले राम्रो फिल्म बनाउन समाजलाई राम्रोसँग बुझ्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को उद्घाटन समारोहमा बोल्दै निर्देशक झाले फिल्म बनाउनअघि समाज बुझ्नुपर्ने बताए। “फिल्म बनाउने काम सजिलो छैन, रचानात्मक हुनुपर्छ,” निर्देशक झाले भने, “जात व्यवस्था, शिक्षा, राजनीति लगायत समाजलाई राम्रोसँग नबुझेको मान्छेले राम्रो फिल्म बनाउन सक्दैन।”

उनले बलिउडको सिको नगर्न नेपाली फिल्मकर्मीलाई आग्रह गरे। बलिउडमा दक्षिण भारतीय तथा विदेशी भाषाका फिल्मको रिमेक बनाउने गरेकाले मौलिक विषय वस्तु नआइरहेको बताए। “बलिउडमा रिमेक बनाउने गरिएको छ, जसले मौलिक विषयवस्तुका फिल्म एकदमै कम बन्ने गरेका छन्,” निर्देशक झाले भने, “नेपालसँग मौलिक कथा प्रशस्त छन्। हिमाल, बुद्ध, सीता, मधेश लगायतको विषयमा फिल्म बनाउन सकिन्छ।”

उनले फिल्मको कथा लेखनमा महीनौंदेखि वर्ष दिनसम्म घोत्लिने गरेको बताए। दशौं पटक कथा पुनर्लेखन गरेको उनले सुनाए। नेपाल र भारतको कला, साहित्य मिल्दोजुल्दो रहेको उल्लेख गर्दै निर्देशक झाले नेपाली निर्देशक तथा पटकथाकारसँग काम गर्न इच्छुक रहेको बताए।

हेर्ने कथा टीमको बाघको बङ्गरा प्रदर्शनसँगै किम्फको २०औं संस्करण शुरू भएको छ। उद्घाटन समारोहमा दर्शकको उपस्थिति र चासोले उत्साह थपेको किम्फ निर्देशक रम्यता लिम्बूले बताइन्।

हिमाल एशोसिएशनले आयोजना गरेको महोत्सव मंसीर २६ गतेसम्म चल्नेछ। महोत्सवमा सहभागी ६० वटा फिल्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिनेछन्।

धेरै कमेन्ट गरिएका