१३ बैशाख २०८१, बिहीबार

विश्वको जनसंख्या आठ अर्ब पुग्यो, भारतको सबैभन्दा धेरै

काठमाडौं ।
विश्वको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो। पृथ्वीमा मानव-प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागे पनि पछिल्लो १२ वर्षमै एक अर्ब थपिएको छ।

पृथ्वीमा मानव–प्रजाति (होमो स्यापियन्स) सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागेको थियो। तर, पछिल्लो १२ वर्षमै एक अर्ब जनसंख्या थपिएको छ। यससँगै संसारको जनसंख्या आठ अर्ब पुगेको घोषणा गरिएको छ। विश्व जनसंख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बरमा संसारको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो।

स्वास्थ्य प्रणालीमा सुधार, स्वच्छ खानेपानी र सरसफाइ तथा खाद्यान्नको उत्पादकत्वदरमा सुधारपछिको पोषणका कारण संसारभरि बढी उमेर बाँच्ने मानिसको संख्या बढिरहेको छ। साथै, धेरै देशमा जनसंख्या उत्पादकत्व दर पनि धेरै छ।

प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसंख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए। चीनभन्दा भारतको जनसंख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसंख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो।

यद्यपि, विश्वको औसत जनसंख्या वृद्धिदरको गति पछिल्ला दशकहरूमा सुस्त भएको छ। सन् १९५० पछि जनसंख्याको वृद्धिदरमा सुस्तता आएको र सन् २०२० मा एक प्रतिशतमा झरेको राष्ट्र संघले जनाएको छ।

राष्ट्र संघले सन् २०३० मा विश्वको जनसंख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, सन् २०५० मा विश्वको जनसंख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ।

विश्वका विभिन्न देशमा पछिल्ला दशकहरूमा प्रजननदर उल्लेख्य घटिरहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२२ देखि २०५० सम्म संसारका ६१ देशमा प्रजननदर एक प्रतिशत वा सोभन्दा पनि घट्ने अनुमान गरिएको छ।

सन् २०५० सम्म बढ्ने अनुमान गरिएको जनसंख्याको आधा जति आठ वटा देशमा हुने आकलन छ। जसमा कंगो गणराज्य, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जनिया हुनेछन्। सन् २०२२ मा ६५ वर्ष वा सोभन्दा माथि उमेर समूहको जनसंख्या कुल १० प्रतिशत रहेकोमा सन् २०५० मा १६ प्रतिशत पुग्ने अनुमान छ। यसले भविष्यमा काम गर्न सक्ने उमेर समूहको जनसंख्या घट्ने र वृद्धवृद्धाको संख्या बढ्ने देखाउँछ।

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष पुगेको छ। सन् १९९० मा यो ६४ वर्ष हाराहारीमा मात्रै थियो। सन् २०५० मा औसत आयु ७७.२ वर्ष पुग्ने अनुमान छ।

नेपालमा तीन करोड आसपास
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार पुगेको छ। यो १० वर्ष अगाडिका तुलनामा करीब २७ लाख बढी हो। नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ।

नेपालमा सर्वाधिक ५३.६६ प्रतिशत मानिस तराई क्षेत्रमा र ६.०९ प्रतिशत मानिस हिमाली क्षेत्रमा बस्छन्। बाँकी पहाडी भूभागमा बसोबास गर्ने जनगणनाले देखाएको छ।

नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गर्दा कुल जनसंख्या ५६ लाख ३८ हजार देखिएको थियो। त्यतिवेला प्रति वर्ग किलोमिटर ३८ रहेको जनघनत्व अहिले बढेर १९८ पुगिसकेको छ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट