जेठ १९ विजयनगर (कपिलवस्तु)
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आज ३ महिने इलेक्ट्रिसियन तथा पलम्विङ् तालिम सम्पन्न भएको छ । उक्त तालिमको समापन विजयनगरको वडा नं. ६ प्रेमनगरभटनीमा भएको हो । महिला तथा बालबालिका को दलित लक्षित कार्यक्रम अन्तर्गत उक्त वर्गका व्यक्तिहरुलाई तालिम दिएको हो । दलितहरुको समुदाय विभिन्न विकासका क्षेत्रमा पछाडी परेको वर्ग हो । तसर्थ दलितहरुको जीवन स्तर माथि उकास्न स्वरोजगारका तालिम सञ्चालनमा ल्याइएको थियो । सो तालिमबाट सहभागीहरुको सीप र क्षमतामा विकास भई स्वरोजगार हुने उद्धेश्य रहेको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दलितहरुको सीप र क्षमतामा अभिवृद्धि भई दलित समुदायको विकासको स्तर माथि उठ्न सक्ने बताउनु भयो । “ आफ्नो सीपलाई सदुपयोग गर्नुस, आयस्रोतको बाटो अवश्य खुल्छ ” उहाँले भन्नु भयो । आफ्नो सीपलाई निरन्तरता दिई आफ्नो सीपको सदुपयोग गर्दै जाने सम्र्पूण तालिम प्राप्त सहभागीहरुलाई अनुरोध समेत गर्नु भयो । रोजगार विना जीवन धान्न साह्रै कठिन हुने भएकाले स्वरोजगारमा जोड दिएको चौधरीले बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई समापन गर्दै गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष टंक बहादुर सुनारले युवा वर्गको पिँढीले स्वरोगारी बनेँ मात्र आफ्नो समुदायमा नयाँ परिवर्तन ल्याउन सक्ने र आर्थिकरुपमा सक्षम हुने बताउनु भयो । यस कार्यक्रममा सात ओटै वडाबाट ३७ जनालाई सहभागी गराइएको थियो, सुनारले बताउनु भयो । उहाँले स्वरोजगारमुखी हुन आफ्नो सक्षमतालाई सही तरिकाले उपयोग गर्दै गएमा जीवन धन्न अप्ठ्यारो नहुने बताउनु भयो ।
कार्यक्रममा तालिम प्राप्त सहभागीहरुलाई इलेक्ट्रिसियन तथा पलम्विङ्को प्रमाण पत्र वितरणको साथै काम गर्नका लागि केही सजिलो होस भनी तत्काल टूल बक्स पनि उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको प्रमुख अतिथ्यता, गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष टंक बहादुर सुनारको अध्यक्षता रहेको थियो भने समापन कार्यक्रम गाउँपालिका स्तरीय दलित सञ्जालका सदस्य राम प्रघट कोरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
3