१३ बैशाख २०८१, बिहीबार

सुरक्षाकर्मी कै पाेषणमा सुपारी तस्करी

कपिलवस्तु १२ वैशाख ।

नेपाल भारत सिमा स्थित कपिलवस्तुको कृष्णनगर नाकामा झटट हेर्दा सुरक्षा ब्यवस्था निकै कडा छ । हतियार सहितका  शशस्त्र र नेपाल प्रहरी हरेक प्रति नजर पुराउन तल्लीन छन् जस्तो देखिन्छ । तर त्यहा खटिएका प्रहरीले सुपारी तस्करलाई सुरक्षा  दिएर रमाई रहेका छन् । तस्करसंग सेटिङ मिलाएका हाकिमहरु कमाई रहेका छन् भन्ने कृष्णनगरवासी हरेक सचेत नागरीकलाई थाहाछ । विगत २ महिना यता कृष्णनगर सीमा क्षेत्रबाट अवैध रुपमा नेपाली सुपारी भारत निकासीमा तीव्रता आएको  छ । नेपालबाट सुपारी तथा सुपारीजन्य वस्तु भारत निकासी पैठारी गर्न नमिल्ने भएपनि तस्करहरुले सुरक्षाकर्मीलाई मिलाएर दैनिक रुपमा यसको निकासी गरिरहेका छन् । विशेष गरि कृष्णनगर क्षेत्र अन्र्तगतको कृष्णनगर नाका क्षेत्र, कुशहवा बढ्नी, भिल्मी तथा ठकुरापुर सीमा क्षेत्रबाट यसको व्यापक निकासी भइरहेको छ । तेश्रो मुलुकबाट भारतको बाटो हुदै नेपालमा आयात हुने सुपारी पुनः सीमा क्षेत्रबाट भारतमै जाने गरेको छ । भारत भन्दा नेपालमा आउने सुपारी निकै सस्तो हुने भएकाले यसको तस्करी भारतमा हुने गरेको छ । गत साता कृष्णनगर क्षेत्रमा भएको एक घटनाले यसको तस्करी कुन गतिमा बढेको छ भन्ने पुष्टि हुन्छ । गत वैशाख ३ गते स्थानीय जनताको विशेष सुराकीको आधारमा बुटवल बाट आएको राजस्व अनुसन्धान कार्यालयको टोलीले कृष्णनगर नगरपालिका १२ स्थित ठकुरापुर बाट ५६ बोरा सुपारी बरामद गरेको थियो । भारत लैजान ठिक्क पारेर सीमा नजिकैको गहुँबारीमा राखिएको सुपारी राजस्वको टोलीले कब्जामा लिएको थियो । टोली आएलगत्तै तस्करहरु भागेर सीमापारी पुगेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले पक्राउ सुपारी ३ हजार नौ किलो र त्यसको बजार मुल्य ९ लाख ५६ हजार रहेको बताउनुभयो । “हामीलाई यस क्षेत्रबाट सुपारी, मरिच लगायतका सामाग्री तस्करी भइरहेको पटक–पटक गुनासो आएको थियो, सुराकी लगायौ र सफल भयौ” उहाले भन्नुभयो । यस अघि पनि छुटपुट रुपमा भारतीय सुरक्षा बल तथा प्रहरीले सुपारी पक्राउ गरेपनि नेपाली सुरक्षाकर्मीले भने त्यसमा कुनै सफलता प्राप्त गरेका छैनन् ।सुपारी तस्करी मुख्य नाकाबाट पोके तस्करहरुले सानो परिमाणमा दिनहु बोक्छन भने ठूला तस्करहरुले सेटिङमा किनारका सीमा क्षेत्रबाट गाडीमा ओर्साने गरेका छन् । श्रोतका अनुसार पक्राउ परेको सुपारी विर्जे र बब्लु भन्ने व्यक्तिको हो । उनीहरु सहित सुपारी मात्र तस्करी गर्ने दर्जन भन्दा बढि समूह सक्रिय छ यतिखेर । नेपाली सप्लार्यस दर्ता गर्ने र भ्याटमा वीरगंजका व्यापारीहरुसंग सुपारी मगाएर कृष्णनगर, बहादुरगंज क्षेत्रमा गोदाम गरि राख्ने र सुरक्षाकर्मीहरु संग सेटिङ मिलाएर सीमा पारी पुरयाउने उक्त खेल २ महिना यता निकै फस्टाएको छ । प्रति किलो १०० रुपैया सम्म मुल्यमा फरक पर्ने भएपछि अहिले सुपारी तस्करी गर्नेहरुको गिरोह पनि बढेको स्थानीयबासीको आरोप छ । कृष्णनगर भन्सार नाका सहित खुला सीमाना बाट हुने राजस्व चुहावट नियन्त्रणका लागि खटिएको शशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म तथा अपराध, तस्करी, सुरक्षा सहित समग्र जिम्मेवारी पाएको नेपाल प्रहरीले तस्करी नियन्त्रण गर्न चासो नदिएकै कारण बुटवलबाट राजस्वको टोलीलाई सुराकी दिन आफुहरु बाध्य भएको एक स्थानीयले भने । “हामीले धेरै पटक जानकारी दियौ तर केहि सुनुवाई भएन, पक्राउ गरिएन” उहाँले भन्नुभयो । “तस्करी भएको बुटवलको राजस्वले थाहा पाउने तर यहाँ सीमामा टासिएर बस्ने शशस्त्र र नेपाल प्रहरीले किन थाहा नपाउने” स्थानीय अशोक यादवले गुनासो गर्दै भन्नुभयो । उनीहरुले सुरक्षाकर्मी तस्करहरु संग मिलेको हुन सक्ने समेत आरोप लगाएका छन् । श्रोतका अनुसार सुपारी तथा अन्य तस्करी नियन्त्रण गर्ने काम प्रहरीको नभई राजस्व हेर्ने विशेष जिम्मा पाएको शशस्त्र प्रहरी भन्सार राजस्व गुल्मको भएको प्रहरी दाबी छ । अर्को तर्फ भन्सार चुहावट नियन्त्रण गर्ने काम आफुहरुको भएको तर नेपालबाट भारत जाने अवैध सामान हेर्ने रोक्ने काम प्रहरीको भएको शशस्त्र प्रहरी भन्सार राजस्व गण कृष्णनगरको भनाई छ । दुबैको बिचमा समन्वय अभावका कारण पनि अहिले तस्करी मात्र होइन सो क्षेत्रमा अपराध समेत मौलाउदै गएको स्थानीयबासीहरु बताउछन् । केहि साता अघि सोहि क्षेत्रको सिर्सिहवामा एक वैदेशिक रोजगारदाता व्यक्तिलाई गोली हानी हत्या गरिनु, तस्करी नियन्त्रण गर्न बुटवबाट टोली आउनु, खुला सीमानाहरुबाट दिउसै तस्करी हुनुले सुरक्षा अवस्था फितलो बनेको कृष्णनगरबासीहरुको आरोप छ । स्थानीयबासीहरुको अनुसार अहिले भिल्मी, कुशहवा बढनी, कृष्णनगर, ठकुरापुर नाकाहरुबाट सुपारी मात्र होईन ईलाइची, कालो मरिच, केराउ, नेपालमा बनेको फेयर एण्ड लबली, खुकुरी चुरोट, सोफी रक्सी समेत ठुलोे मात्रामा भारत तर्फ अवैध निकासी भइरहेको छ । सीमा क्षेत्रमा बढेको तस्करी नियन्त्रण गर्न शशस्त्र प्रहरी सीमा सुरक्षा गण तौलिहवा प्रहरी उपरिक्षक दिपक अधिकारी तथा नेपाल प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले कडा निर्देशन दिएको र सो क्षेत्रमा भइरहेको गतिविधी बारे जानकारी लिई आवश्यक कार्यवाही गर्ने बताउनुभएको छ । 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट