१२ बैशाख २०८१, बुधबार

कपिलवस्तु प्रहरीले भारतीय ट्रक छाेड्न २ लाख मागे

कपिलवस्तु ।
प्रहरीको नचाहिँदो फन्दामा परेपछि सर्वसाधारणले कति दुःख पाउँछन् भन्ने उदाहरण अहिले कपिलवस्तुमा एक भारतीय ट्रक मालिक बनेका छन् । दुर्घटनापछि ट्रक मालिकले लाखौं क्षतिपूर्ति तिरेका छन् । अर्को सवारी साधनमा पुगेको क्षतिवापतको रकम पनि दिइसकेका छन् । तर, एक जना इन्स्पेक्टरले मागेको दुई लाख नदिएका कारण भारतीय सवारी साधन झण्डै पाँच महिनादेखि रोकेर राखिएको छ ।

घटनाअनुसार गत फागुन २२ गते कपिलवस्तुको ओदारीमा भारतीय ट्रकको ठक्करबाट स्थानीय अनिल गाहाको मृत्यु भयो । पिपरा प्रहरीले एमपी ०८ जीए ४०६८ नम्बरको उक्त ट्रक तथा चालक पर्वत सिंह साहुमाथि मुद्दा चलायो । कपिलवस्तु अदालतले चालक साहुलाई तीन वर्ष कैद सजाय तोक्यो । भारतीय गाडी धनी बृजेशसिंह लोधाले मृतक परिवारलाई क्षतिपूर्तिवापत पाँच लाख तिरे । अटोमा भएको क्षतिवापत तीन लाख १८ हजार चार सय पनि बुझाए ।

सबै कानूनी प्रक्रिया पुर्याए पनि लोधाले आफ्नो गाडी अहिलेसम्म भारत लैजान पाएका छैनन् । यो सबैको एउटै कारण इलाका प्रहरी कार्यालयका निरीक्षक दिपकबाबु केसीलाई घटना मिलाएवापत थप दुई लाख नदिएको विषय बनेको हो ।

भारतीय गाडी धनी लोधा दुई महिनादेखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर उनको समस्या समाधान हुनुको साटो ज्युँको त्युँ देखिन्छ । उनका चालकले कारागारमा सजाय भुक्तान गरिरहेका छन् । गाडी मालिकले सबै जरिवाना तिरिसके तर निरिक्षक केसीलाई दुई लाख आर्थिक सहयोग नदिएकै कारण गाडी रोकिएको बताइन्छ ।

लोधाले आफूले पटक पटक गाडी भारत लैजान हारगुहार गर्दा इन्सपेक्टर केसीले मृतक परिवारलाई देखाउँदै रोकेका हुन् । केसीको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ, ‘पीडित पविारले मानेको छैन, गाडी लान मिल्दैन, दुई लाख दिएको अवस्थामा सेटिङ्ग मिलाउँछु तबमात्र गाडी छाड्न सकिन्छ ।’जिल्ला प्रशासनमा रकम बुझाएको पाँच लाख क्षतिपूर्ति र अटोको तीन लाख १८ हजारको रसिद लैजाँदासमेत सिडियो कार्यालयको पत्र मागेर हलो अड्काइएको लोधाले गुनासो गरे । जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका नासु जनक जोशीले सवारी दुर्घटनामा प्रशासनको रसिदकै आधारमा गाडी छाड्ने प्रचलन छ । तर, प्रहरीले नछाड्नुको कारण प्रष्ट नभएको उनले बताए । ‘सबै काम सकिएको २० दिन भयो, किन रोकेको छ हामी पनि आश्चर्यमा छौं ,’ जोशीले भने ।

भारतीय गाडी धनीले थप रकम नदिने छाँट देखेपछि केसीले दुःख दिन अर्को मेसो लगाइदिएका छन् । इलाका प्रहरी कार्यालय पिपराले सरकारी वकिल कार्यालयलाई गाडी के गर्ने भनेर सोधिएको पत्र पठाइदिएका छन् । यसअघिका सवारी दुर्घटनाको प्रक्रियामा पिपरा प्रहरीले सरकारी वकिल कार्यालयलाई पत्र काटेको थिएन ।

केसीले उक्त घटनामा मात्र होइन फागुन २७ गते तौलिहवाको जहदीमा भएको सवारी दुर्घटनाको ट्रकलाई समेत यसरी नै रोकेर राखेको बताइन्छ । उक्त घटनामा यूपी ४१ एटी १५८२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय सिर्जना यादवको मृत्यु भएको थियो । पीडित परिवारले क्षतिपूर्ति पाए, चालक धरौटीमा छुटे तर गाडी भने छाडिएको छैन ।

दुवै गाडी धनीहरुसँग निरीक्षक केसीले एउटै रटान लगाउने गरेका छन् । ‘पीडित परिवारले मानेको छैन, थप रकम दिएमा सेटिङ मिलाउँछु अनि गाडी छाड्न सकिन्छ,’ केसीको भनाइ उद्धृत गर्दै भारतीय गाडी धनीले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी जेशी साहले यसबारे जानकारी भए पनि उतै गएर मिलाउन भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि आगोमा घिऊ थपेको छ ।

यसबारे प्रहरी निरिक्षक केसीले सबै प्रक्रिया पूरा भएको स्वीकारेका छन् । तर पीडित पक्ष स्वयमले नमानेका कारण ढिलो भएको उनको दाबी छ । आफूले दुवै पक्ष मिलेर आउन आग्रह गरेको तर कुनै लेनदेनमा आफ्नो संलग्न नरहेको दाबी गरेका छन् । जिल्ला अदालत र जिल्ला प्रशासनले तोकेको दण्ड सजाय र क्षतिपूर्ति भुक्तानी गरे पनि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको दुई वटा ट्रक छाड्ने सम्बन्धमा छिट्टै निर्णय हुने उनले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट