१२ बैशाख २०८१, बुधबार

जसपामा विवाद र विभेदको जड उपेन्द्र यादव हुन्’

 

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई अलग हुने खबर बाहिरिएको छ । यसको मुख्य कारण के हो ? राष्ट्रिय सभामा प्रतिनिधि छान्दा जुन विवाद थियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि त्यस्तै विवाद देखियो अहिले मन्त्री छनोटमा पुग्दा त्यो विवाद अझ उत्कर्षमा पुगेको छ । जसपाभित्रको विवादमा यी मात्र कारण छन् कि अरू पनि ? यीनै विषयमा खबरहबका लागि धीरज बस्नेतले जसपाका नेतृ अमृतादेवी अग्रहरीसँग गरेको कुराकानीको सम्पादित अंशः

जसपा भित्रको विवाद फुटकै स्थितिमा पुगेको हो ?
मिडियाबाट फैलिएका कुराहरू जसपा टुट्दै छ भन्नेमा म विश्वस्त छैन । विवाद र असन्तुष्टि छ । किनकि ४ वटा पार्टी मिलेर जसपा बनेको हो। प्रत्येक पार्टीमा असन्तुष्टि र विवाद हुन्छ । सानो तिनो बहसमा पार्टी नै टुट्छ भन्ने मलाई लाग्दैन।

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमति भएर छुट्ने कुरा बाहिरिएको छ त !
आधिकारिक रूपमा दुवै जनाले यो कुरा भन्नु भएको छैन । अध्यक्ष उपेन्द्र यादवबाट मैले यो कुरा सुने तर बाबुराम भट्टराईबाट सुनेकी छैन । यो कुरा सत्य हो भने जुनै पार्टीको लागि पनि यो कुरा दुर्भाग्य हुनेछ । मिल्दा धेरै ऊर्जा हुन्छ । सानो कुरामा असन्तुष्टि हुने बित्तिकै पार्टी तोड्नु हुँदैन । आपसी समझदारीबाट अगाडि बढ्नु पर्दछ । म त राजपाबाट यो पार्टीलाई बचाएको हुँ । यो पार्टी समाप्त हुनै लागेको थियो तर राजपाका सम्पूर्ण साथीहरू मिलेर जसपा बचाऊँ भनेर लाग्यौँ । त्यसैले यो कमजोर छैन । यो बहुदलीय व्यवस्थामा पार्टी टुट्ने र जुट्ने हरेक पार्टीमा हुन्छ ।

तपाईँले डाक्टर बाबुराम भट्टराईलाई समर्थन गदै आउनु भएको छ । तपाईँहरूकै कारणले पार्टी फुट्न लागेको भन्ने आरोप छ नि !
म जसपाको मान्छे हुँ । यसभित्र जो भए पनि सबै हाम्रो हो । तपाईँहरू राम्रोसँग मिल्नुहोस् भन्छौ । तपाईँ राम्रो र नराम्रो भनेर भन्न मिल्दैन । डाक्टर बाबुराम भट्टराईले समावेशीताको कुरा गर्नुभएको छ र म पनि हरेक कुरामा समावेशिता चाहन्छु ।

तपाईँहरूको पार्टी यो स्थितिमा पुग्नु पछाडिका कारण के हुन्, नेताबाट कहाँ कहाँ गल्ती भयो ?
११ जना राजपाका साथीहरू मिलेर यो पार्टीलाइ बचाउ भनेर लाग्यौँ । तर अध्यक्ष उपेन्द्र यादवजीले राजपालाई त्यति मान्यता दिनु भएन । नजरअन्दाज गर्नुभयो । हामीले पार्टी नबचाएको भने आज यो पार्टी रहने नै थिएन । हामीलाई अध्यक्षबाट नै धेरै विभेद भएको छ । म आफैँ विभेदमा परेको छु । उहाँले विभेद हटाउन चाहनु भएन । विवादको कारण यही हो ।

अघिल्लो सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो तपाई जानु भयो ?
त्यो दिन मलाई कुनै जनकारी भएन । त्यो बैठकमा बाबुराम भट्टराई कृषि मन्त्री महेन्द्र राय यादव र केन्द्रीय कार्यकारिणी सदस्य गङ्गा नारायण श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको रहेछ त्यसो भए पनि पार्टी फुट्ने भएन र ?
पार्टी विपरीत काम गरेको भए स्पष्टिकरण सोध्नु स्वभाविक हो । तर त्यो प्रमाणित गर्नु पर्दछ । जसले पार्टी जोगाउने उद्देश्य राख्छ । उसले मेलमिलाप गर्दछ संवादमा जान्छ छलफल गर्दा पनि निश्कर्ष आएन भने स्पष्टीकरणमा जान्छ । त्यसैले अहिले जुन हल्ला चलिरहेको छ यसले नेतालाई टाढा बनाउने काम भइरहेको छ । यदि नेताले सुधार गर्नुभएन भने टुट्न पनि सक्छ तर अहिले त्यस्तो टुटिहाल्ने अवस्था छैन ।

तपाईँलाई थाहा छ, डाक्टर बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटक उपराष्ट्रपतिको कार्यालयमा पुगेर भेटवार्ता गरेको ?

कुनै पनि नेताहरु देशको प्रत्येक नेतासँग भेटघाट गर्नुलाई अस्वभाविक मान्नु हुँदैन । राष्ट्रप्रति चिन्तन गर्नुलाई नकारात्मक सोच्नु हुँदैन । आज हाम्रो देश किन पछाडि परेको छ भने आफ्नो लागि मात्र सोच्नु पर्दछ । अर्को पार्टीको नेतासँग भेट्न हुँदैन भन्ने सोचाईको परिणाम हो ।

यो भेटमा देशलाई माथि लैजाने भन्दा पनि बाबुरामलाई माओवादीमा कसरी ल्याउने भन्ने कुरामा छलफल भएको कुरा बाहिर आएको छ नि त !
भित्र के-के कुरा भयो त्यो त कसैलाई थाहा हुँदैन । तर बाहिर एउटा नेता अर्को नेतासँग कुरा गर्दा जनताले राज्यको हितमा कुरा गर्नुभयो भन्ने बुझ्नु पर्दछ ।

यदि पार्टी फुटी हाल्यो भने तपाई कता उभिने ?
जसले यो पार्टी बचाउन खोज्छ। जसले पार्टी फोरेर होइन पार्टीभित्र भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छु भन्छ । म कुनै पक्षधर मान्छे होइन, कुनै व्यक्तिको पक्षधर पनि होइन जसपाको हो । जसपा हामीले बनाएको हो । जसपा जता छ म त्यतै छु ।( पुष्पाञ्जली बस्नेतकाे रिपोर्ट खबरहबबाट)

धेरै कमेन्ट गरिएका

ताजा उपडेट