गठबन्धनका लागि कुनै समस्या छैनः नेता खनाल

कपिलवस्तु ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणी (बलदेव) खनालले माओवादीले देशमा गर्न चाहेको परिवर्तनको बारेमा अहिले मधेसी जनताले राम्रोसँग बुझी सकेको बताउनुभएको छ । उहाँले माओवादीको सही एजेण्डाका कारण मधेशमा माओवादी पार्टीमा प्रवेशको लहर चलेको दाबी गर्नुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर बनियाभारमा शुक्रबार आयोजित माओवादी केन्द्रको जन सभा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले केपी ओलीले पार्टीको नीति, नियम विपरीत पेलेर काम गर्ने र निर्देशन नमान्ने कारणले नेकपा एकता भङ्ग भएको आरोप लगाउनुभयो । यसरी ओलीले संविधान विघटन गर्ने र राष्ट्रलाई घात हुने काम गरेको उहाँले बताउनुभयो ।
उहाँले माओवादीको नारा सही भएर संविधान र जनताको हक अधिकारको व्यवस्था सुनिश्चित गर्न सफल भएको जिकिर गर्नुाभयो । माओवादीले १० वर्ष लामो समय जनयुद्ध गरेर शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले बोकेको एजेण्डा, परिवर्तन मधेशका जनता बुझि सकेको र थप बुझाउँदै जानुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पुर्व कृषि मन्त्रीसमेत रहेका खनालले सरकारमा रहेका ५ ओटा दलसँग मिलेर गठबन्धन गर्ने बताउनुभयो । यसका लागि पार्टीले ती दलसँग निरन्तर छलफल र वार्ता भइरहेको बताउँदै गठबन्धनका लागि कुनै पनि समस्या नभएको उहाँले बताउनुभयो । यो गठबन्धन प्रदेश र संघको चुनावसम्म नै कायम रहने खनालले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुकाई थारुले माओवादी केन्द्रले नै देशमा परिवर्तन ल्याएर सम्भव भएको बताउँदै सबैले फेरि पनि देशलाई समृद्ध र विकसित मुलुक बनाउन माओवादी पार्टीका नेतृत्वलाई जिताउन आवश्यक दाबी गर्नुभयो ।
यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य उमा विश्वकर्माले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न पार्टीहरुले फैलाइ रहेका झुठो भ्रममा नपरी सचेत हुन अनुरोध गर्नुभयो । उहाँले गाउँ, टोलटोलमा गई माओवादी केन्द्रका नेतृत्वलाई जिताउनुपर्नेमा जोड दिनुभयो । सबै जनताका हक अधिकार र सपनालाई साकार पार्न चाहेको पार्टी माओवादी मात्र भएको बताउँदै पार्टीलाई थप बलियो बताउनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चूर बहादुर खड्काले माओवादी केन्द्रले जितेको ठाउँमा चौतर्फी विकास भएको दाबी गर्नुभयो । उहाँले यातायात, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको पुर्वाधारको विकासमा अन्य वडाको तुलनामा उल्लेखनीय विकास गरेको बताउनुभयो । उहाँले नगरपालिकाको वडा नम्बर ९ सबैभन्दा पछाडी परेको क्षेत्र भए पनि अहिले हेर्ने लायक बनाएको बताउनुभयो । उहाँले शिवगढीबासीले पहिलेको तुलनामा अहिले ९ नम्बर सबै भन्दा बढी विकास भएको जिकिर गर्नुभयो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र ९ नम्बर वडा कमिटी अध्यक्ष लाल बहादुर रोकाको अध्यक्षता, शिवराज नगर समितिका अध्यक्ष दिनेश पुनको आतिथ्यता र सुर्य गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
