कन्चनपुर, २६ फागुन । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।
आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ । एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।
आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।
यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।
3