२२ भाद्र २०८१, शनिबार

निःशुल्क आवतजावतको व्यवस्थाका लागि पहल गर्ने :भारतीय राजदुत रे

 16143304_1274466625933497_4226784464486405328_nनेपालगञ्ज। नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाल र भारतीय नम्बर प्लेटका गाडीलाई दुबै देशमा निःशुल्क आवतजावतको व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघले सोमबार साँझ आयोजना गरेको स्वागत तथा अभिनन्दन समारोहमा बोल्दै राजदुत रेले अहिले भारतीय नम्बर प्लेटका गाडी नेपालमा आउँदा शुल्क तिर्नुपर्ने र नेपाली नम्बर प्लेटका गाडी भारतमा जाँदा दुतावासको सिफारिसमा निःशुल्क जाने गरेको स्मरण गराउँदै दुबै देशमा निःशुल्क आवतजावत गराउन सकेमा सहज हुने बताउनुभयो ।
‘ ‘म दुबै देशका नम्बर प्लेटका गाडीको फ्री मुभमेन्टका लागि दुई/तीन दिनमा मन्त्री रमेश लेखकसँग कुरा गर्छु,–‘राजदुत रेले भन्नुभयो,–‘हप्ता दिनसम्म भएपनि निःशुल्क आवतजावतको व्यवस्था भएमा सबैलाई राहत मिल्न सक्छ ।’
भारतीय पाँच सय र हजारका नोट नेपालमा पनि रहेको सन्दर्भमा राजदुत रेले व्यवस्थापन गर्नका लागि अधिकारीहरुसँग छलफल भइरहेको बताउनुभयो । ‘नेपालमा प्रतिबन्धित पाँच सय र हजारका नोट साट्ने व्यवस्था मिलाउने बित्तिकै भारतमा रहेका नोटहरु यता आउने सम्भावना हुन्छ,–‘उहाँले भन्नुभयो,–‘नोटकोे पनि व्यवस्थापन होस् र कालोबजारी पनि नहोस् भनेर दुबै देशका अधिकारीहरु छलफलमा जुटेका छन् ।’ उहाँले भारत क्यासभन्दा कार्डको प्रयोगको रणनीतिमा अगाडी बढेको बताउनुभयो ।
नेपाललाई लोडसेडिङमुक्त गराउन भारतले सक्दो गरिरहेको रेको भनाई थियो । ‘तीन सय ३० देखि तीन सय ४० मेगावाटसम्म बिजुली अहिले आइरहेको छ, यो महिनाको अन्तिम सम्ममा थप पाँच सय मेगावाट बिजुली भारतबाट आउँछ,–‘राजदुत रेले भन्नुभयो,–‘रक्सौल, मुजफ्फरपुर, ढल्केवर र टनकपुरबाट समेत नेपालमा बिजुली आउँछ ।’
भारतीय सरकारको सहयोगमा नेपालका धेरै तराई क्षेत्रमा हुलाकी राजमार्ग निर्माण भएको र केही निर्माणका क्रममा अलपत्र परेको विषयलाई समेत ध्यानाकर्षण गर्दै राजदुत रेले छिटो भन्दा छिटो उक्त योजनाहरु अगाढी बढ्ने बताउनुभयो । पाँच हजार मेगावाटको पञ्चेश्वर हाइड्रो पावर र हुलाकी राजमार्ग निर्माण कार्य अगाडी बढिसकेको राजदुत रेले जानकारी दिनुभयो ।
भारतले नेपालमा शिक्षा, स्वास्थ्य, सिंचाई र सडकमा ठुलो लगानी गरेको जानकारी दिँदै राजदुत रेले दुबै देशको हितलाई ध्यानमा राखेर बनेको संयुक्त संयन्त्रले दुई÷दुई महिनामा बैठक बसेर मुद्दाको पहिचान गरेर समाधान निकाल्ने काम गरिरहेको बताउनुभयो ।
भारत सरकारले नेपालमा प्रत्येक वर्ष करिब तीन हजार जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेको छ भने नेपालमा पाँच सयबढी एम्बुलेन्स, बस, दमकल सहयोग गरेको छ ।
जडीबुटीको हब मानिने नेपालगञ्जका व्यावसायीले निर्यातमा कठिनाई भएको स्मरण गराएपछि राजदुत रेले त्यसलाई सहजताका लागि पहल गर्ने आश्वासन दिनुभयो । उहाँले नेपालमा एउटा भरपर्दो ‘लेबोरेट्री टेष्ट’ गर्न प्रयोगशाला बनेर त्यसलाई भारतले स्वीकार गर्ने वातावरण बनाएमा जडीबुटी निर्यातमा सहज हुने बताउनुभयो ।
राजदुत रेले नेपाल र भारतको सम्बन्ध प्राचीनकालदेखि सुमधुर रहँदै आएको भन्दै ‘सबका साथ, सबका विकास’ भन्ने नाराका साथ आफुहरु अघि बढिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले भारतीय सरकारबाट भइरहेको शिक्षाको विकासका कार्यलाई तीव्र गतिमा बढाई दिन आग्रह गर्नुभएको थियो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालमा रहेको पर्यटन, जल तथा जडिबुटीको विकासका लागि सदैव सहयोग गरिरहेको बताउ“दै मौजुदा अवस्थामा देखिएका समस्यालाई समाधान गर्न भारत सरकारले प्राथमिकता दिने आशा व्यक्त गर्नुभयो ।
अधिवक्ता विश्वजीत तिवारीले बाँके अवध क्षेत्र भएकाले यस क्षेत्रमा अवधी साँस्कृतिक संग्रहालयको निर्माण गर्न राजदुत रेसंग अनुरोध गर्नुभयो ।
कार्यक्रममा वाणिज्य संघका द्वित्तीय उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, व्यावसायी कन्हैलाल बैद्यलगायतले नेपाली व्यापारीले भारतीय क्षेत्रमा भोग्दै आएको समस्या र नेपालमा सृजित समस्या समाधानका लागि पहल थाल्न आग्रह गर्नुभएको थियो ।
भारतीय राजदुत रञ्जित रेलाई मधेशी नागरिक समाजले पनि स्वागत एवं अभिनन्दन गरेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट