५ जेष्ठ २०८१, शनिबार

चिनियाँ पक्षले नेपाली भूमिमा तारबार लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ

काठमाडौं । नेपाल-चीन सीमा अध्ययन समितिले हुम्लाका विभिन्न सीमावर्ती क्षेत्रमा समस्या रहेको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाई सकेको छ ।
गृह मन्त्रालयमार्फत कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालय पुगेको प्रतिवेदन कार्यान्वयनका लागि पहलकदमी भइरहेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्तामा हुम्लाको सीमा समस्या राखेका छन् ।
परराष्ट्र मन्त्रालयले पनि द्विपक्षीय वार्ता तथा सीमा निरीक्षणका लागि चिनियाँ विदेश मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदन कार्यान्वयनको पहल भइरहेका बेला यसका केही गम्भीर तथ्यहरु बाहिरिएको छ ।
प्राप्त प्रतिवेदनको सांराशमा कहाँ कहाँ, कसरी समस्या छ ?चीनले कसरी कब्जा गर्न खोजेको छ, नेपाललाई कसरी दबाब र प्रभावमा राखेको छ, वेवास्ता गरेको छ भन्ने उल्लेख छ । अघिल्लो कम्युनिस्ट सरकारको बलियो साथ पाएर सीमामा समस्या नै नभएको दाबी पटक पटक गरेको चीनको बदमासी यतिबेला छताछुल्ल भइसकेको छ । नेपालमा सुन्दरी राजदूत होउ यान्छीको चालबाजी असफल भएको छ ।
के के छ प्रतिवेदनमा?
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वको अध्ययन समितिको प्रतिवेदनमा हुम्लाको धेरै ठाउँमा चीनबाट सीमा मिचिएको उल्लेख छ । चारदेखि १३ नम्बर पिल्लरसम्मको अध्ययन गर्दा धेरै ठाउँमा समस्या छ । यसको दिगो समाधानका लागि देशको नीतिमै सीमा समस्यालाई समावेश गर्नुपर्ने सुझाइएको छ ।
सीमासम्बन्धी यस्ता संवेदनशील र द्विपक्षीय विषयलाई स्थायी संयन्त्रमार्फत सम्बोधन गर्न आवश्यक भए पनि त्यस्तो कुनै पहल नभएकोतर्फ ध्यानाकर्षण गराइएको छ ।
सन् १९६३ को सीमासम्बन्धी प्रोटोकलले ५(२) पिल्लरदेखि किट खोलाको मध्यसम्मको क्षेत्रलाई दुई देशबीचको सिमाना तोकेपछि उक्त क्षेत्र नेपालको रहेको हो । तर चिनियाँ पक्षले नेपाली भूमिमा तारबार लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चिनियाँ पक्षले नेपाली भूमिभित्र १४५ मिटर स्थायी नहर बनाउन खोजेको पनि फेला परेको छ । नहरसँगै सडक बनाउन खोजेका थिए । तर नेपालको सशस्त्र प्रहरी बल पुगेर विरोध जनाएपछि चीनले रातारात बनाइएका संरचनाहरू भत्कायो । भत्काएर ढाकिएको भग्नावशेष अध्ययन समितिले देख्न पायो ।
प्रतिवेदनअनुसार चिनियाँ पक्षले नेपाली भूमिमा रहेको ६(१) पिल्लर क्षेत्रमा तारबार लगाएको छ । पिल्लर ६ (१) र पिलर ५ (२) बीचको क्षेत्र कब्जा गर्ने प्रयास गरेको छ । चिनियाँतर्फको स्तम्भ ७(२) नदेखिएको र नेपालका सुरक्षाकर्मीले खोज्दा फेला नपरेको प्रतिवेदनमा उल्लेख छ । नेपाल–चीन साझा पिल्लर ९(२) बाट ३२ मिटर पर्ने पिल्लर १० तर्फ चिनियाँ पक्षले बार लगाएकाले सन् १९६३ को सीमा सम्बन्धी प्रोटोकल उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ पक्षले पिलर ५(२) र पिलर ४ बीचको क्षेत्रमा नेपाली नागरिकलाई गाईवस्तु चराउनसमेत रोक लगाएको पाइएको छ । सन् १९६३ को सीमा सन्धिअनुसार नाम्खाको ललुङजोङ नेपालमै पर्ने प्रतिवेदनमा उल्लेख छ । तर उक्त भूभागमा चीनले संरचना बनाएर सुरक्षा बलको उपस्थिति बढाउँदा तिब्बतको कैलाश मानसरोवर जाने तीर्थयात्री नेपालीहरुको धार्मिक गतिविधिमा असर परेको पाइएको छ ।
नेपालको धार्मिक र पर्यटन गतिविधिमा बाधा पुगेको र आ–आफ्नै क्षेत्रमा आवतजावतमा रोक लगाइएको स्थानीयहरू गुनासो गरेको प्रतिवेदनमा उल्लेख छ ।
अर्कोतिर नाम्खा गाउँपालिकाका स्थानीय उत्तरको तिब्बतमा निर्भर रहहेकाले बोल्न डराउने गरेको पाइएको छ । नाम्खा गाउँपालिकामा विशेषगरी लिमी लाप्चा र हिल्सा क्षेत्रमा नेपालीहरु सीमापार तिब्बती बजारमा धेरै निर्भर छन् । त्यसैले उनीहरु सीमा रक्षा गर्न चाहँदैनन्, सीमाका विषयमा बोल्न पनि इच्छुक छैनन् ।
काठमाडौंबाट हुने अध्ययनले द्विपक्षीय सम्बन्धलाई असर गर्छ भने उनीहरू चिन्तित देखिन्छन् । समितिले पिल्लर ५ (२) को दक्षिणपश्चिमको क्षेत्र र कितखोलादेखि कर्णाली नदीसम्मको उत्तरतर्फको क्षेत्र नेपाली भूभाग भएकाले उक्त क्षेत्रमा चीनले लगाएको तारबार हटाउन सुझाव दिएको छ । संयुक्त निरीक्षण गर्न सिफारिस गरेको छ ।
समितिले सन् २००६ यता हुन नसकेको संयुक्त रुपमा सिमाना अनुगमन गर्न पनि सुझाव दिएको छ । सीमा निरीक्षण र सीमा स्तम्भ पुनर्निर्माण गर्दा स्थानीय जनता, स्थानीय प्रशासन र स्थानीय सरकारलाई आफ्नो सीमा र अधिकारको बारेमा थाहा हुनुपर्ने कुरामा प्रतिवेदनमा ध्यानाकर्षण गराइएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयुक्त सीमा निरीक्षणका लागि पटक पटक अनुरोध गर्दा पनि चीनले सुनेको छैन ।
पटक पटक पत्राचार गरे पनि जवाफ आएको छैन । नापी विभागका अधिकारी पनि सन् २०११ पछि ठप्प भएको सीमा बैठक गर्न र संयुक्त निरीक्षणका लागि परराष्ट्र मन्त्रालयमार्फत पटकपटक पत्राचार गरे पनि चिनियाँ पक्षबाट कुनै प्रतिक्रिया नआएको बताउँछन् ।
यसरी चीनले एकातिर सीमा मिच्ने र अर्कोतिर संयुक्त सीमा निरीक्षण गर्न पनि वेवास्ता गर्ने तथा नेपाल निरीक्षण गरेर बदमासी बाहिर ल्याउँदा मिचेको छैन भनेर विज्ञप्ति निकाल्ने द्वैध चरित्र चिनियाँ पक्षले देखाएको छ ।एसीपीनेपाल

धेरै कमेन्ट गरिएका

ताजा उपडेट