५ जेष्ठ २०८१, शनिबार

चीनको वुहानबाट सुरु भएको काेराेना भाइरस सङ्क्रमणका कारण अरुकाे ज्यान बचाउने लाखाैं स्वास्थ्यकर्मीकाे ज्यान लियाे

काठमाडौँ । सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारीले स्वास्थ्यकर्मीलाई धेरै असर गरेको छ । उपचार गर्ने क्रममा आफैँ थला परेर जीवन गुमाएका चिकित्सक र नर्सको पीडादायक मृत्युको समाचार र तस्बिरहरू सञ्चारमाध्यममा थुप्रै छापिए ।

चीनको वुहानबाट सुरु भएको यो सङ्क्रमणले सन् २०२० को सुरुवातमै युरोप र अमेरिकालाई सबैभन्दा बढी प्रभाव पारेको थियो । उत्कृष्ट स्वास्थ्य संरचना भएका देशहरू इटाली, स्पेन र अमेरिकामा केही दिनमै महामारी उच्च बिन्दुमा पुगेपछि यसबाट चिकित्सकहरू सबैभन्दा धेरै प्रभावित भए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएअनुसार कोरोना महामारीका कम्तीमा कारण ८० हजार देखि १ लाख ८० हजार जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । डब्ल्युएचओको यो तथ्याङ्क सन् २०२० को जनवरीदेखि यसै वर्षको मेसम्मको हो ।

महामारीकाल कति समय रहला भन्ने अनुमान धेरैको हुनसक्छ तर कसैले यकिन गरेर भन्ने अवस्था अझ छैन । डब्ल्युएचओका अधिकारीहरू अहिले पनि भ्याक्सिनेसनको कामबाट सन्तुष्ट छैनन् । उनीहरूले सुस्त भ्याक्सिनेसनका कारण महामारी अर्को वर्ष पनि रहनसक्ने चेतावनी दिएसकेका छन् ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अडहानोमले भ्याक्सिन वितरणमा भएको असमानताको चर्को आलोचना गरेका छन् । उनका अनुसार संसारमा लगभग दश करोड ३५ लाख स्वास्थ्यकर्मी छन् ।

यीमध्येका ४० प्रतिशत मात्र पूरा इम्युन भएका छन्, ११९ देशको डाटाको आधारमा यो तथ्य सार्वजनिक भएको हो । डब्ल्युएचओले कुनै समय सङ्क्रमितमध्ये १० प्रतिशत स्वास्थ्यकर्मी रहनसक्ने जनाइएको थियो । चिकित्सकमा भ्याक्सिनेसनको यो डाटा भौगोलिक क्षेत्र र देशको आर्थिक अवस्था अनुसार फरक छ ।

अफ्रिकामा १० प्रतिशतभन्दा कम स्वास्थ्यकर्मी पुरै इम्युन भएका छन् भने यो दर बलियो अर्थतन्त्र भएको देशमा ८० प्रतिशभन्दा बढी छ । यसअघि नै डब्ल्युएचओका वरिष्ठ अधिकारी डा. ब्रस एलवार्डले भ्याक्सिनमा रहेको यो असमानताका कारण महामारी सन् २०२२ मा पनि नसकिने चेतावनी दिएका थिए ।

अफ्रिकामा ५ प्रतिशतमात्रै पुरा इम्युन भएका छन् । यसरी धेरै भ्याक्सिन दिइएका देशमा उच्च तथा उच्च मध्यम आय भएका देशहरू रहेका छन् । संसारको कुल वितरित भ्याक्सिनमध्ये अफ्रिकामा २.६ प्रतिशतमात्र वितरण भएको छ ।

डब्ल्युएचओको पहलमा संसारका सबै देशमा भ्याक्सिनको समान वितरण होस् भन्ने हेतु कोभ्याक्सको अवधारणा आएको थियो तर ‘जी सेभेन’ ले भ्याक्सिनमाथि नियन्त्रण राखेपछि कोभ्याक्सको अवधारणाअनुसार भ्याक्सिन वितरण हुन सकेन । धनी देशले आफ्ना नागरिकलाई खोप अभाव नरहे पनि थप डोज सुरक्षित राख्ने क्रम जारी राखेका छन् ।

डा. एलेवार्डले औषधि उत्पादक कम्पनीलाई आफूले पहिले नै बुक गरे पनि अन्य देशलाई भ्याक्सिन दिने वातावरण बनाउन धनी देशलाई आग्रह गरेका छन् । अहिलेकै जस्तो अवस्था रहे महामारी अझ लामो समय रहने उनको भनाइ छ ।
अहिले विभिन्न निकायले कोभ्याक्समा भन्दा पनि आफ्नै नागरिकलाई मात्र प्राथमिकता दिएको भन्दै बेलायत र क्यानडाको चर्को आलोचना भएको छ ।यसै वर्ष सार्वजनिक भएको तथ्याङ्कले बेलायतले कोभ्याक्स सुविधामार्फत ५ लाख ३९ हजार ३७० डोज फाइजर भ्याक्सिन लिएको देखिएको छ । क्यानडाले एक मिलियन भन्दा अलि कम अस्ट्राजेनका भ्याक्सिन लिएको छ ।

कोरोना संक्रमणमा संक्रमितको उपचारको क्रममा आफ्नो ज्यान गुमाउने करिब १ लाख ८० हजार जना स्वास्थ्यकर्मी संसारका जुनसुकै देशका नागरिक भए पनि हामी सबैका लागि सम्मानका पात्र हुन् । उनीहरूले अरूलाई बचाउन खोज्दा आफ्नो ज्यान गुमाए ।

अक्सफामका स्वास्थ्य सल्लाहकार रोहित मालपानीले बेलायत र क्यानडाले कोभ्याक्सलाई गरेको आर्थिक सहयोगको तुलनामा उनीहरूले लिएको डोज कम भए पनि यो लिन हुने कि नहुने भन्ने नैतिक विषय पनि भएको बताएका छन् । बेलायतले भने गत वर्ष ५ करोड ४८ मिलियन पाउन्ड सहयोग गर्यो । यसरी कोभ्याक्स परियोजना चालु गर्न आफ्नो अहम् भूमिका भएको भन्दै आफ्नो आलोचना गर्न नहुने जिकिर गरेको छ ।

त्यसो त बेलायतले विभिन्न देशलाई गरी एक करोड डोज भ्याक्सिन आफैले दिएको छ भने १० करोड भ्याक्सिनको प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय समुदायबाट विरोधका स्वरहरू उठ्न थालेपछि क्यानडाले कोभ्याक्सको भ्याक्सिन उपयोग गर्न छाडेको छ ।

क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री करिना गोल्डले आफूहरूले विभिन्न उत्पादक कम्पनीसँग गरेको सम्झौताको आधारमा पाउने भ्याक्सिन नागरिकका लागि पर्याप्त भएका कारण कोभ्याक्समार्फत लिएको डोज फिर्ता गर्ने र यो गरिब देशलाई पठाउन सहयोग गर्ने बताएकी छन् । कोभ्याक्सको यो वर्षको अन्त्यसम्ममा दुई अर्ब कोभिड डोज दिने लक्ष्य राखे पनि अहिलेसम्म ३७ करोड एक लाख मात्र दिइएको छ ।

डब्ल्युएचओले सेप्टेम्बरसम्म १० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाइसक्ने लक्ष्य राखेको थियो । यो लक्ष्यमा ५० भन्दा बढी देश धेरै टाढा रहेका छन् ।

अक्टोबरको पहिलो सातासम्म अफ्रिकामा पुरै इम्युन हुने ४ प्रतिशत थिए । बेलायतमा सोही समयमा ६६ प्रतिशत, युरोपेली युनियनमा ६२ तथा अमेरिकामा ५५ प्रतिशतले पूरा डोज भ्याक्सिन लगाइसकेका थिए । यसरी १० प्रतिशत नपुग्ने देशमा यमन, इराक, सिरिया, इराक, अफगानिस्तान र म्यानमार जस्ता घरेलु राजनीतिक समस्याले ग्रस्त देश रहेका छन् । प्राकृतिक विपत्तिको सामना गरेको हाइटी पनि पछि परेको छ । सम्पन्न देश ताइवान पनि भ्याक्सिनमा धेरै पछि छ । केही महिना अघिसम्म ‘जिरो कोभिड’ को रणनीतिमा सफल देखिएको भियतनाम पनि भ्याक्सिनेसनमा धेरै पछाडि छ ।

अफ्रिकाका ५४ मध्य १५ देश १० प्रतिशतले लक्ष्य पार गर्न सके । आधा देशमा दुई प्रतिशतभन्दा कमले मात्र भ्याक्सिन लगाएका छन् । अफ्रिकाका ठूला र धेरै जनसङ्ख्या भएका इजिप्टमा ५ प्रतिशत तथा इथियोपिया र नाइजेरियामा ३ प्रतिशतभन्दा कमले मात्रै दुवै डोज भ्याक्सिन पाएका छन् ।

बुरुन्डी र इरिट्रियामा त भ्याक्सिन दिने काम नै भएको छैन ।

कोभ्याक्समा निर्भर धेरै अफ्रिकी देशका लागि जुनमा भएको ‘जी सेभेन’ राष्ट्रको शिखर सम्मेलनपछि भ्याक्सिन वितरणको बाटो खुलेको हो । सोही सम्मेलनले कोभ्याक्स सुविधाको भ्याक्सिन सिधै धनी देशले अफ्रिकी देशमा लैजाने नीति लिएका थिए ।
यो महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित छैन । परन्तु, महामारी रहेसम्म भ्याक्सिन नलगाएका स्वास्थ्यकर्मी नै सबैभन्दा बढी जोखिममा रहने निश्चित छ ।सङ्क्रमण हुने र ज्यान नै जाने जोखिममात्र होइन, अन्य अनेकन समस्या पनि महामारीको समयमा चिकित्सकले भोगेका छन् । यसै बारेमा बङ्गलादेशमा एक अध्ययन पनि भएको थियो ।

सन् २०२० को मेदेखि अगस्टसम्मको बीचमा चिकित्सक र नर्सले भोगेका समस्याका बारे उक्त अध्ययन भएको थियो । बङ्गलादेशका चिकित्सकले सात प्रमुख समस्या भोगेको अनुभव गरेका थिए । कामको अधिक भार एउटा प्रमुख समस्या रहेको थियो ।

मानसिक तनाव, दुव्र्यवहार, जिम्मेवार निकायको लापरबाही, समन्वयको अभाव र पीपीई अभावलगायत समस्या स्वास्थ्यकर्मीहरूले भोगेका थिए । सर्वेक्षण बङ्गलादेशमा भए पनि यो समस्या तेस्रो विश्वका प्रायः सबै देशका स्वास्थ्यकर्मीको हो ।

जब, सन् २०२० को मे महिनामा युरोप र अमेरिकामा कोभिडको पहिलो लहरको पिक देखियो, सोही समयमा यी देशका लागि यो महामारी नौलो थियो र कुनै तयारी थिएन । धनी र बलियो स्वास्थ्य संरचना भएका देशमा समेत पीपीई अभाव थियो ।यसै समयमा धेरै चिकित्सकले आफ्नो ज्यान गुमाए । सामाजिक सुरक्षाको मापदण्ड पूरा गर्दै उपचार गर्नु उनीहरूका लागि लगभग असम्भव नै थियो ।

कोभिड महामारीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी धेरै कुन उमेरका थिए भन्ने अध्ययन र पूर्ण डाटा अझसम्म उपलब्ध भएको छैन । बेलायतमा सुरुवाती समयमै १६७ जना स्वास्थ्यकर्मीको निधन हुँदा ८ जना ३० वर्ष भन्दा कम उमेरका थिए ।हरेक एक सय वर्षको अन्तरमा महामारीले मानव सभ्यतालाई सताइरहेको छ । हरेकको जीवनको आफ्नै महत्व त हुन्छ नै, यसमा पनि स्वास्थ्यकर्मी गुमाउनुको पीडा समाजका लागि लामो समय रहन सक्छ । यसरी ज्यान गुमाउने ती करिब १ लाख ८० हजार जना स्वास्थ्यकर्मी संसारको जुनसुकै देशका नागरिक भए पनि हामी सबैका लागि सम्मानका पात्र हुन् । उनीहरूले अरूलाई बचाउन खोज्दा आफ्नो ज्यान गुमाए ।

–एजेन्सीहरूको सहयोगमा

धेरै कमेन्ट गरिएका

ताजा उपडेट