१३ बैशाख २०८१, बिहीबार

ओमसतियाको बजेट तथा कार्यक्रम सार्वजनिक

जितेन्द्र थारू
भैरहवा-१० असार ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आफ्नै भवनमा बुधबार बसेको गाउँसभाले गत असार ३ गते सातौं गाउँसभामा गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) ले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई आधार मानी उपाध्यक्ष सुन्दरतमति कुमारी हरिजनले वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटले स्वास्थ्य क्षेत्रका पूर्वाधार जनशक्ति र क्षमता विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउने, कोभिड-१९ बाट शिथिल बनेको गाउँपालिकाको आन्तरिक आयलाई चलायमान र गतिशील बनाउने, कृषि उत्पादनमा थप अवसरहरु सिर्जना गर्दै गाउँपालिकालाई क्रमशः आत्मनिर्भर बनाउने र बजेट कार्यन्वयनमा सुधार सुशासन प्रत्याभूति गर्ने मुख्य लक्ष्य बोकेको गाउँपालिका अध्यक्ष हिरा केवटले बताए ।
प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने, शिक्षा लगायत सामाजिक क्षेत्रको विस्तार र विकास गर्ने, कृषि क्षेत्रमा उत्पादनका साधनमा सरल पहुँच र नविनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने, आर्थिक सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्ने गरी दिगो पुर्वाधार विकासमा जोड दिने, गाउँपालिकालाई डिजिटल गाउँपालिकामा रुपान्तरण गर्ने गरी सूचना प्रविधिको विकास उपयोगमा जोड दिने, सार्वजनिक खर्चलाई मितव्ययी एवं नतिजामुखी बनाउने र आनुपातिक क्षेत्रमा खर्च कटौतीलाई प्राथमिकता दिइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि ओमसतिया गाउँपालिकाले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत १३ करोड १७ लाख गरी ४९ करोड ६८ लाख ४ सय ७० बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए ।
नेपाल सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै नेपाल सरकारबाट र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयन हुने गाउँपालिकाले व्यवस्था मिलाएको छ । गाउँपालिकाको लागत सहभागिता सुनिश्चितता गर्ने गरी ३ करोड विनियोजन गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान तर्फका मुख्यमन्त्री ग्रामीण विकास तथा सिर्जना कार्यक्रमका लागि ६० लाख विनियोजन भएको छ ।
स्वास्थ्य क्षेत्रका पूर्वाधार जनशक्ति र क्षमता विस्तार गरी स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुका साथै स्वास्थ्य सेवालाई विद्यालय स्तरमै पुर्याउने उद्देश्यले माध्यमिक तहका विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालन गर्न ६ लाख विनियोजन गरिएको छ ।
सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च उपलब्ध गराउने र ६० वर्ष माथिका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेनाको उच्च मुल्यांकन गर्दै विदाई तथा सम्मान कार्यक्रम सञ्चालक गर्न ८ लाख ८५ हजार विनियोजन गरिएको छ ।
त्यस्तै पशु सेवा तथा कृषि विकास क्षेत्र तर्फ पशु बिमा कार्यक्रमलाई निरन्तरता दिन ५ लाख बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सशर्त अनुदानबाट राष्ट्रिय र स्थानीय स्तरमा खाद्य सुरक्षामा टेवा पुर्याउने साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्न पालिकाले आवश्यक बजेटको व्यवस्था गर्नेछ ।
कृषि प्रयोजनका लागि व्यवसायिक फर्म दर्ता गरी जग्गा भाडामा लिई व्यवसायिक खेती गर्ने किसानहरुलाई आवश्यक बजेट विनियोजन गरिनुका साथै कृषि हाटबजार एग्रोभेटको व्यवस्थापन गर्न एवं वडा तथा पालिका स्तरिय कृषि सञ्जाल गठन गरी कृषि सहकारीलाई प्रोत्साहान गर्न आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष केवटले बताए ।
शैक्षिक गुणस्तर अभिवृद्धि गरी नीजि विद्यालयसँग प्रतिस्पर्धात्मक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप नर्सरी देखि कक्षा ४ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिँदै आवश्यक बजेट विनियोजन गरिनुका साथै सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न तोकिएको विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन एवं छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्न सशर्त अनुदानबाट आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
एकल महिला गरीब तथा विपन्न महिलाको जीवनस्तरमा सुधार ल्याई आत्मनिर्भर बनाउन विभिन्न किसिमका व्यवसायिक तालिमहरु सञ्चालन गरिने गाउँपालिका अध्यक्ष केवटले जानकारी दिए । त्यस्तै अति विपन्न घरवारविहीन, एकल महिला, ७० वर्ष नाघेका जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिको सिफारिस गर्दा लाग्ने राजस्व निशुल्क गराउनुका साथै लघुउद्यम गर्ने नागरिकलाई विशेष कार्यक्रमको व्यवस्था मिलाइएको उनले बताए ।
स्रोत साधनको सिमितता, कोभिड-१९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र पालिकावासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकारात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट पुर्णरुपमा सार्थक नभएपनि आगामी वर्षदेखि गाउँपालिकाले पुर्ण क्षमताका साथ बजेट कार्यक्रम कार्यान्वयन गर्न सक्ने अवस्थामा पुग्ने गाउँपालिका अध्यक्ष हिरा केवटले विश्वास व्यक्त गरे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट